सिद्धार्थ बैंक लिमिटेडको २४औँ वार्षिक साधारण सभा सम्पन्न



काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडको चौबिसौँ वार्षिक साधारण सभा आज काठमाडौँको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सञ्चालक समितिका अध्यक्ष राहुल अग्रवालको अध्यक्षतामा सम्पन्न भएको छ।

सभाले हाल कायम रहेको रु १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १ सय ९० चुक्ता पूँजीमा ५ प्रतिशत बोनस शेयर (रु ७० करोड ४४ लाख ९९ हजार १०) र ५.५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित रु ७७ करोड ९१ लाख ७५ हजार ९ सय ५) वितरण गर्ने प्रस्ताव पारित गरेको छ। यससँगै सभाले शेयरधनीलाई कुल १०.५३ प्रतिशत लाभांश पारित गरेको बैंकले जनाएको छ।

सो अवसरमा आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, आषाढ मसान्तसम्मको वित्तीय विवरण—समेत नाफा–नोक्सान, नगद प्रवाह तथा स्वपूँजी परिवर्तन विवरण पनि सभाले अनुमोदन गरेको छ।

त्यसैगरी, आगामी वर्षका लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने तथा उनको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित गरिएको छ।

सिद्धार्थ बैंक लिमिटेड नेपालमा निजी क्षेत्रद्वारा सञ्चालित अग्रणी वाणिज्य बैंकहरूमध्ये एक हो। देशको १७औँ वाणिज्य बैंकको रूपमा स्थापना भएको बैंकले नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त गरी २३ वर्षदेखि वित्तीय कारोबार सञ्चालन गर्दै आएको छ। अहिले बैंकले १९६ शाखामार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

बैंकको प्रमुख उद्देश्य ग्राहकसँग दीर्घकालीन, विश्वसनीय र पारदर्शी सम्बन्ध कायम गर्दै डिजिटल–प्रथम, ग्राहक–केन्द्रित तथा दिगो बैंकिङ अभ्यासलाई प्रवर्द्धन गर्नु रहेको बताइएको छ। ग्राहक र सरोकारवालाबाट प्राप्त सुझावलाई अवलम्बन गर्दै बैंकले आफ्नो यात्रालाई सफलतापूर्वक अगाडि बढाइरहेको छ।

प्रकाशित मिति : २०८२ मङ्सिर २ गते सोमवार