काठमाडौं। न्युजिल्याण्डका अनुभवी अलराउण्डर जिम्मी निसम आगामी नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन्। पोखराले मंसिर १ गतेदेखि सुरु हुने दोस्रो सिजनका लागि उनलाई चौथो विदेशी खेलाडीको रूपमा अनुबन्ध गरेको पुष्टि गरेको हो।
पहिलो सिजनमा जनकपुर बोल्ट्सबाट खेल्दै उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका निसम यसपटक नयाँ फ्रेन्चाइजबाट प्रवेश गर्दैछन्। केही दिनअघि निसमले भिडियोमार्फत जनकपुरबाट खेल्न नपाउने जानकारी गराएका थिए।
३५ वर्षीय निसम टेष्ट राष्ट्रबाट आउने चर्चित नाम मानिन्छन्। उनी यस सिजन एनपीएलमा सहभागी हुने न्युजिल्याण्डका तेस्रो खेलाडी हुन्। यसअघि विराटनगर किंग्सले मार्टिन गप्टिल र सुदूरपश्चिम रोएल्सले स्कट कुगेलेइनलाई अनुबन्ध गरिसकेका छन्। गप्टिल र कुगेलेइन पुरानै टिममै निरन्तरता पाएका छन् भने निसम भने नयाँ क्लबमा पुगेका हुन्।
निसमले न्युजिल्याण्डका लागि १२ टेष्ट, ७६ ओडीआई र ९३ टी–२० अन्तर्राष्ट्रिय खेलेका छन्। टी–२०आईमा उनले १,०१० रनसहित ५६ विकेट लिएका छन्। फ्रेन्चाइज क्रिकेटमा उनको अनुभव निकै व्यापक छ—आईपीएल, बिग बास, भाइटालिटी ब्लास्ट, सीपीएल, पीएसएल, बीपीएल, हन्ड्रेड र एसए–२० मा उनले लगातार प्रभाव छोडेका छन्।
करिब ३१९ टी–२० खेलमा ४,४९६ रन र २६९ विकेटसहित निसम विश्वस्तरीय अलराउण्डरको रूपमा परिचित छन्। सन् २०१९ को वानडे विश्वकप र २०२१ को टी–२० विश्वकपमा न्युजिल्याण्ड उपविजेता हुँदा उनी टोलीका महत्वपूर्ण सदस्य थिए।
निसमको आगमनसँगै पोखरा एभेन्जर्सले ब्याटिङ र बलिङ दुवै विभाग अझ सशक्त हुने अपेक्षा गरेको छ।





