काठमाडौं। लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ का लागि नामिबियाका बाँयाहाते पेस बलर रुबेन ट्रम्पलमनलाई अनुबन्ध गरेको छ। यससँगै लुम्बिनीले चौथो विदेशी खेलाडी टिममा समेटेको हो। यसअघि क्लबले अष्ट्रेलियाका डार्शी सर्ट, इटालीका थोमस ड्राका र अफगानिस्तानका गुल्बादिन नइबलाई अनुबन्ध गरिसकेको छ।
२७ वर्षीय ट्रम्पलमनले नामिबियाका लागि ४९ ओडीआई र ४४ टी–२० अन्तर्राष्ट्रिय खेलेका छन्, जहाँ उनले क्रमशः ७३ र ४९ विकेट लिएका छन्। टी२० विश्वकप २०२४ मा ओमानविरुद्ध २१ रनमा ४ विकेट उनका करियरका उत्कृष्ट फिगर हुन्। टी–२० मा उनले २६७ रन समेत बनाएका छन् भने ओडीआईमा दुई अर्धशतक प्रहार गरेका छन्।
२०२५ अक्टोबरमा दक्षिण अफ्रिकाविरुद्ध नामिबियाले ऐतिहासिक टी–२० जित निकाल्दा उनले ३ विकेट लिँदै अविजित ११ रन जोडेका थिए। दक्षिण अफ्रिकाको डर्बनमा जन्मिएका ट्रम्पलमन घरेलु क्रिकेट त्यहींबाट खेल्दै आएका भए पनि उनले बुबाको जन्मथलो नामिबियाका लागि २०२१ देखि अन्तर्राष्ट्रिय क्रिकेट खेल्दैछन्।
तीन पटक टी–२० विश्वकप खेलिसकेका ट्रम्पलमनका नेपालमा खेलने अनुभवसमेत छ। उनी लिग–२ र नामिबियाको टी–२० सिरिजका लागि कीर्तिपुरमा खेलिसकेका छन्।





