काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको १९औं वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८१/८२ का लागि बैंकले प्रस्ताव गरेको चुँक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।
साधारणसभाले सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरणलाई अनुमोदन गर्दै सोही आधारमा लाभांश वितरणको निर्णय गरेको हो।
सभाअनुसार बैंकले आर्थिक वर्ष २०८१/८२ मा ७ अर्ब २३ करोड रुपैयाँ सञ्चालन मुनाफा र ५ अर्ब ७ करोड रुपैयाँ करपछिको मुनाफा आर्जन गरेको छ।
अध्यक्ष ढकालले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकका नीति–नियमको पूर्ण पालना गर्दै शेयरधनीलाई दिगो प्रतिफल प्रदान गर्न बैंक प्रतिबद्ध रहेको बताएका छन्। साथै, नयाँ व्यावसायिक क्षेत्रहरूको सन्तुलित विस्तारमार्फत आगामी वर्षहरूमा बैंकको व्यवसायिक दायरा अझ विस्तार गरिने जानकारी दिए।
साधारणसभामा नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्जका प्रतिनिधि, शेयरधनी तथा संस्थागत निवेशक, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो।
Manaslu World College का प्रतिनिधिहरूले पनि कार्यक्रम अवलोकन गरेका थिए।
ग्लोबल आइएमई बैंकले हालसम्म Bank of the Year 2014, Best Internet Bank 2016, Best Bank Nepal 2024 & 2025, Euromoney Award for Excellence 2022, 2024 & 2025, Best Bank ESG Nepal 2024, Best Employer लगायतका थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरिसकेको छ।
देशका ७७ वटै जिल्लामा सञ्जाल विस्तार गर्न सफल पहिलो निजी क्षेत्रको वाणिज्य बैंकका रूपमा परिचित बैंकले
-
३५२ शाखा,
-
३८४ एटिएम,
-
१५० शाखारहित बैंकिङ सेवा,
-
६८ एक्सटेन्सन तथा राजस्व काउन्टर
-
३ वैदेशिक प्रतिनिधि कार्यालयमार्फत १,००० भन्दा बढी सेवा बिन्दुद्वारा ग्राहकलाई वित्तीय सेवा प्रदान गरिरहेको छ।
बैंकले अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डनलगायतका मुलुकबाट रेमिट्यान्स सेवा सञ्चालन गर्दै विदेशी रोजगारमा रहेका नेपालीहरूलाई सहज सेवा प्रदान गर्दै आएको छ।





