कामना सेवा विकास बैंकको १९औं वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न, नयाँ निक्षेप योजना सार्वजनिक



काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १९औं वार्षिकोत्सव विभिन्न सामाजिक, खेलकुद तथा वित्तीय गतिविधिमार्फत देशभर मनाएको छ। विशेषगरी रक्तदान कार्यक्रममार्फत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै बैंकले बिहीबार देशव्यापी रूपमा उत्सव मनाएको जनाएको छ।

बैंकका अनुसार केन्द्रीय तथा सबै क्षत्रीय कार्यालयहरूमा एकैसाथ संचालन गरिएको रक्तदान कार्यक्रमबाट जम्मा ४२९ पिन्ट रगत संकलन भएको छ।
बुटवल क्षेत्रमा कार्यक्रमको उद्घाटन बैंकका सञ्चालक भीमप्रसाद तुलाचनले गरे भने केन्द्रीय कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहालले हिमाल हस्पिटल, रक्तसञ्चार केन्द्रकी भावना पाण्डेलाई ब्लड ब्याग हस्तान्तरण गर्दै उद्घाटन गरे।

रक्तदान कार्यक्रम काठमाडौँ, विराटनगर, बर्दिबास, नारायणगढ, पोखरा, बुटवल तथा नेपालगञ्जका शाखा तथा क्षेत्रीय कार्यालयहरूमा सम्पन्न भएको थियो। कार्यक्रममा क्षेत्रीय प्रमुखहरू, स्थानीय सामाजिक व्यक्तित्व, रक्तदाता तथा बैंकका कर्मचारीहरूको उल्लेखनीय सहभागिता देखिएको बैंकले जनाएको छ।
Manaslu World College ले समेत कार्यक्रममा सहयोग प्रदान गरेको उल्लेख छ।

यसैबीच, बैंकले वार्षिकोत्सवकै अवसरमा अन्तर बैंक तथा वित्तीय संस्था स्तरीय पाँचौं फुटसल कप आयोजना गरेको थियो। पुरुषतर्फ सिद्धार्थ बैंक विजयी रह्यो भने महिलातर्फ लुम्बिनी विकास बैंक च्याम्पियन घोषित भयो।

सोही अवसरमा बैंकका अमरसिंह शाखाले अमर सिंह उच्च मावि र पोखरा न्युरोड शाखाले पार्दी मावि मा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै समुदायप्रति आफ्नो प्रतिबद्धता थप मजबुत पारेको बैंकले जनाएको छ।

बैंकले १९औं वार्षिकोत्सवसँगै नयाँ निक्षेप योजना समेत सार्वजनिक गरेको र ग्राहकमैत्री सेवा विस्तारलाई आगामी वर्षको प्रमुख लक्ष्य बनाएको जनाएको छ।

प्रकाशित मिति : २०८२ कार्तिक २९ गते शुक्रवार