काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का लागि जनकपुर बोल्ट्स र क्लाउड एजुकेशन एन्ड भिसा सर्भिसेजबीच स्पोन्सरशिप सम्झौता सम्पन्न भएको छ। बुधबार राजधानी काठमाडौंमा आयोजित एक विशेष समारोहमा दुवै पक्षका प्रतिनिधिहरूले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
जनकपुर बोल्ट्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निरज खतिवडा र क्लाउड एजुकेशन एन्ड भिसा सर्भिसेजका प्रमुख कार्यकारी अधिकृत अनिश गौतमले औपचारिक रूपमा सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए। सम्झौता अनुसार, क्लाउड एजुकेशन एनपीएल सिजन २ का लागि जनकपुर बोल्ट्सको आधिकारिक स्पोन्सर का रूपमा रहनेछ।
कार्यक्रममा बोल्दै सीईओ अनिश गौतमले क्लाउड एजुकेशनले युवाको विकास, अवसर सृजना र अन्तर्राष्ट्रिय स्तरमा उनीहरूलाई अघि बढाउने उद्देश्यका साथ खेलकुदमा समेत सक्रिय भूमिका निर्वाह गर्न लागेको बताए। उनका अनुसार, “खेलकुद समाज र युवाको सशक्तिकरणको माध्यम हो, र हामी त्यसमा सकारात्मक योगदान दिन चाहन्छौं।”
त्यसैगरी जनकपुर बोल्ट्सका सीईओ निरज खतिवडाले क्लाउड एजुकेशनसँगको सहकार्यले टोलीको तयारी र आत्मविश्वासमा थप ऊर्जा ल्याउने विश्वास व्यक्त गरे। उनले भने, “यो सहकार्यले केवल जनकपुर बोल्ट्सलाई बलियो बनाउने होइन, नेपाली क्रिकेटको व्यवसायिक यात्रामा पनि नयाँ आयाम थप्नेछ।”
समारोहमा दुवै संस्थाका प्रतिनिधि, खेलकुद पत्रकार तथा क्रिकेटसम्बद्ध व्यक्तिहरूको उपस्थिति थियो। एनपीएल सिजन २ आगामी महिनामा सुरु हुने अपेक्षा गरिएको छ, जसमा देशका प्रमुख टोलीहरूले प्रतिस्पर्धा गर्नेछन्।





