काठमाडौं । निशानदेवी बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो १४औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष बुद्धिराज पाण्डेको अध्यक्षता र निवर्तमान सांसद सुनिता बरालको प्रमुख आतिथ्यमा गत कार्तिक २२ गते शनिबार सम्पन्न सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन तथा वित्तीय प्रतिवेदनहरू सर्वसम्मत रूपमा पारित गरेको छ।
सभामा अध्यक्ष पाण्डेद्वारा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष रामहरि सुवेदीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन र अन्य वित्तीय विवरणहरू छलफल तथा सुझावसहित पारित गरिएको थियो।
गत आर्थिक वर्षमा सहकारीको
-
शेयर पूँजी: रु. ४,३६,६५,६००
-
निक्षेप: रु. १०,८१,७४,६६४
-
कर्जा लगानी: रु. १२,२९,८२,१२७ रहेको छ।
सहकारीले सो अवधिमा रु. ४१ लाख ५२ हजार ५९८ को खुद नाफा आर्जन गरेको जनाएको छ। साथै, २०८२ असार मसान्तसम्म रु. ३ करोड ८० लाख ३७ हजार २५० को बैंक तथा नगद मौज्दात रहेकोले तरलताको कुनै समस्या नपर्ने सहकारीले जनाएको छ।
सभामा अध्यक्ष पाण्डेले संस्थालाई अझ सशक्त, पारदर्शी र सदस्यमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्दै चालु आर्थिक वर्षलाई “ऋण असुली वर्ष”का रूपमा मनाइने बताए। उनले म्याद नाघेका ऋण असुलीमा सक्रिय भएर अघि बढ्ने योजनाबारे पनि जानकारी दिए।





