सुर्खेतको पञ्चपुरी–१० जामुस्थित जनज्योति माध्यमिक विद्यालयका गणित शिक्षक हरिस खनाललाई विद्यालयले फूलमालासहित भावुक बिदाइ गरी जापान पठाएको छ। करिब १३ महिना अध्यापन गरेका २८ वर्षीय खनालले नेपालमा शिक्षण पेशामा भविष्य नदेखेर वैदेशिक रोजगारी रोजेका हुन्।
एसएलसीपछि पढ्दै–पढाउँदै वीरेन्द्रनगरका निजी विद्यालयमा धेरै वर्ष काम गरे पनि तलब ११–१४ हजारमै सीमित रह्यो। पारिश्रमिक, अस्थायित्व र जीवनस्तर धान्न नसक्ने अवस्थाले उनी निराश बने। पछि सरकारी विद्यालयमा अध्यापन गरे पनि स्थायित्वको आशा पूरा भएन।
आफ्नो तथा परिवारको भविष्य सुरक्षित गर्न खनाल पत्नीसँगै जापान बस्ने योजनामा छन्। पत्नी दुई वर्षअघि करिब १८ लाख ऋण खर्चेर जापान पुगेकी थिइन्। सहकर्मी र विद्यार्थीहरूका बिदाइ भावुक भए पनि बाध्यताले वैदेशिक रोजगारी रोज्नुपरेको उनले बताए।
प्रकाशित मिति : २०८२ कार्तिक २७ गते बुधवार





