काठमाडौं । आइएमई लिमिटेडले मंगलबार आफ्नो २५औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ। संस्थापक अध्यक्ष हेमराज ढकालको अध्यक्षतामा सम्पन्न सभामा उनले वार्षिक प्रतिवेदन प्रस्तुत गरे, जसलाई सभाले सर्वसम्मत रूपमा पारित गरेको छ।
अध्यक्ष ढकालले आइएमई लिमिटेडले रेमिटेन्स सेवा क्षेत्रमा अग्रणी भूमिका निभाउँदै सर्वाधिक लोकप्रिय ब्रान्डको रूपमा आफ्नो पहिचान स्थापित गरेको उल्लेख गर्दै यस उपलब्धिमा संलग्न सबैलाई धन्यवाद ज्ञापन गरे।
उनका अनुसार, कम्पनीले २५ वर्षे यात्रा पार गर्दै नयाँ प्रविधि र रणनीतिक दृष्टिकोणका साथ व्यवसाय विस्तारमा केन्द्रित हुनेछ। उनले आइएमईलाई ‘कम्प्लिट फाइनान्सियल सोलुसन्स’ कम्पनीका रूपमा रूपान्तरण गर्ने दीर्घकालीन लक्ष्य रहेको पनि बताए।
सभामा संस्थापक अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमईको सफल यात्रालाई गौरवपूर्ण उपलब्धि भन्दै नागरिकको जीवनस्तर सुधार र उद्यमशीलता प्रवर्द्धनमा आइएमईको योगदान उल्लेखनीय रहेको बताए।
त्यस्तै, प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले कम्पनीले आगामी दिनमा वित्तीय प्रविधिको अधिकतम उपयोग गर्दै रेमिटेन्स सेवा अझ सरल, सहज र सुरक्षित बनाउने योजना अघि सारेका छन्। उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा आइएमईको ब्रान्ड मूल्य थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरे।





