काठमाडौं । “हाम्रो वचन नै सुरक्षित बचत तथा लाभ” भन्ने मूल नारासहित वचन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभा संस्थाका अध्यक्ष मुकुन्दराज खनालको अध्यक्षता र प्रमुख अतिथि, विशिष्ट अतिथि, सञ्चालक, सल्लाहकार, सदस्य, पत्रकार तथा कर्मचारीहरूको उपस्थितिमा सम्पन्न भएको हो।
सञ्चालक समितिका तर्फबाट अध्यक्ष खनालले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, कार्यक्रम, बजेट तथा व्यवस्थापकीय प्रणाली प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको प्रगति, चुनौती र भावी योजनाबारे जानकारी गराएका थिए।
अध्यक्ष खनालले जेनजी आन्दोलनका कारण पूर्वनिर्धारित मितिमा साधारणसभा सम्पन्न गर्न नसकिएको भए पनि २०८२ साल कार्तिक २२ गतेका दिन सफलतापूर्वक सम्पन्न गर्न सकेकोमा सम्पूर्ण सदस्यहरूलाई बधाई दिएका थिए। उनले विगत वर्षहरूमा संस्थाले सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा पुर्याएको योगदान उल्लेख गर्दै सहकारीलाई अझ प्रभावकारी, दिगो र सदस्यमुखी बनाउन सबैको सहकार्य अपरिहार्य रहेको बताए।
उनका अनुसार, संस्थाको शेयर पूँजी रु. ३ करोड ५६ लाख ६९ हजार २०५ रुपैयाँ पुगेको छ भने बचत जम्मा रकम रु. २६ करोड ५६ लाख ९२ हजार ७७ रुपैयाँ पुगेको छ। सोही आर्थिक वर्षको अन्त्यमा संस्थाले रु. २६ करोड ८९ लाख ५८ हजार ९९५ रुपैयाँ ऋण लगानी गरेको छ। संस्थाको तरलता अनुपात २२.४९ प्रतिशत रहेको छ, जुन सञ्चालनका दृष्टिले पर्याप्त मानिएको छ।
खनालले संस्थाको समष्टिगत आर्थिक अवस्था सुदृढ रहेको उल्लेख गर्दै संस्थाको PEARLS विश्लेषणका अधिकांश सूचकहरू बचत तथा ऋण सहकारीका मापदण्ड भित्र रहेको बताए।
साधारणसभामा सदस्यहरूका लागि विभिन्न योजनाहरूको जानकारी गराउँदै सहकारी सिद्धान्त, मूल्य र मान्यताको पालना गर्दै संस्थालाई पारदर्शी र उत्तरदायी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।
संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. देशमर्दन बस्न्यात, पूर्वअध्यक्षहरू, सह-प्राध्यापक लक्ष्मणध्वज जोशी र सुरज के.सी. लगायतका व्यक्तिहरूको योगदानको प्रशंसा गर्दै अध्यक्ष खनालले उनीहरूप्रति आभार प्रकट गरे।
उक्त सभामा संस्थाको आगामी वर्षका लागि सदस्यता विस्तार, वित्तीय स्थायित्व, उत्पादनमुखी लगानी प्रवर्द्धन तथा सहकारी शिक्षा र तालिम कार्यक्रमलाई प्राथमिकतामा राख्ने निर्णय गरिएको थियो।
अन्त्यमा अध्यक्ष खनालले संस्थाको निरन्तर प्रगति, पारदर्शिता र सदस्यहरूको विश्वास नै सहकारीको मुख्य शक्ति भएको उल्लेख गर्दै वचन बचत तथा ऋण सहकारीलाई सहकारी जगतको एक आदर्श संस्थाका रूपमा स्थापित गर्ने लक्ष्य व्यक्त गरे।





