काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने म्याद आज (कात्तिक २३ गते) समाप्त हुँदैछ। इच्छुक लगानीकर्ताले आज बैंकिङ समयभित्र आवेदन दिन सक्नेछन्।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरी प्रतिकित्ता रु. १०० अंकित दरका दरले ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर निष्कासन गरेको हो। यसमध्ये आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको सेयर वितरण भइसकेको छ।
अब बाँकी भागमध्ये कम्पनीका कर्मचारीका लागि १ लाख ४९ हजार १२७ कित्ता, सामूहिक लगानी कोषका लागि २ लाख ४८ हजार ५४६ कित्ता र सर्वसाधारणका लागि ४० लाख ७६ हजार १५६ कित्ता सेयर खुला गरिएको छ।
सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। यसअनुसार न्यूनतम रु. १ हजार र अधिकतम रु. ५० लाख लगानी गर्न सकिनेछ। यस आईपीओलाई इक्रा नेपाल लिमिटेडले ‘इक्राएनपी–आईआर बीबीप्लस’ क्रेडिट रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमता मध्यम स्तरको रहेको जनाउँछ।
यस आईपीओको विक्री व्यवस्थापक प्रभु क्यापिटल लिमिटेड रहेको छ भने आवेदनका लागि ग्लोबल आइएमई बैंक, कुमारी बैंक, र मनास्लु सौऱ्य कृषि विकास बैंक लगायतका आस्वा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सकिनेछ।





