काठमाडौँ । नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी) को पहिलो वार्षिक साधारणसभा शुक्रबार काठमाडौँमा सम्पन्न भएको छ। सभाको अध्यक्षता कम्पनीका अध्यक्ष चन्द्र प्रसाद ढकालले गरेका थिए।
सभाले हालका अध्यक्ष ढकालसहित विष्णु प्रसाद अग्रवाल, राजेन्द्र मल्ल, भागिरथ सापकोटा र मनोज पौडेललाई सञ्चालक पदमा निर्विरोध रूपमा पुनः निर्वाचित गरेको छ।
ढकालको घोषणा : “रोजगारीमूलक परियोजनामा निजी–सार्वजनिक साझेदारी”
सभामा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका ढकालले कम्पनीले आगामी दिनमा जलविद्युत, पर्यटन, सूचना प्रविधि, कृषि तथा साना–मझौला उद्योगमा लगानी विस्तार गर्ने योजना अघि सारे।
उनले भने “सार्वजनिक–निजी साझेदारीमार्फत सरकारी तथा गैर सरकारी कोषसँग सहकार्य गरी ठूला र रोजगारीमूलक परियोजनामा लगानी बढाउँछौं।”
ढकालका अनुसार स्वदेशी र गैरआवासीय नेपाली (एनआरएन) लगानीकर्ताबीच एनडीपीमा विस्तृत चासो र विश्वास बढिरहेको छ। कम्पनीले आगामी चरणमा उद्योग स्थापनादेखि सञ्चालन र विस्तारसम्म परामर्श सेवा दिने तयारी गरेको पनि उनले जानकारी दिए।
१० अर्ब पुँजी, ४६ जिल्लाका २४६ शेयरधनी
एनडीपीको कुल पुँजी १० अर्ब रुपैयाँ पुगेको छ भने यसमा देशभरका ४६ जिल्लाबाट २४६ जना शेयरधनीको सहभागिता रहेको छ। कम्पनीले देशका विभिन्न उद्यमी तथा एनआरएन लगानीकर्ताको स्रोत परिचालन गरी राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ बनाउने लक्ष्य लिएको जनाएको छ।
ढकालले निष्कर्षमा भने “ठूला र रणनीतिक उद्योगमा लगानी गरेर हामी मुलुकको अर्थतन्त्रलाई लयमा ल्याउन, आर्थिक गतिविधि तीव्र बनाउन र रोजगारी सिर्जना गर्न सक्षम हुनेछौं।”





