काठमाडौँ । नेपालमा पहिलो पटक दक्षिण कोरियाली उच्च शिक्षालाई लक्षित गर्दै ‘कोरियन एजुकेसन फेयर’ आयोजना हुने भएको छ। नेपाल शैक्षिक परामर्श सेवा सङ्घ (नेक्सा)ले शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आगामी कात्तिक २२ गते हुने मेला तयारी पूरा भएको जानकारी दिएको हो।
मेला कोरियामा अध्ययन गर्न इच्छुक नेपाली विद्यार्थीका लागि अवसर, सम्भावना र भविष्यको मार्गचित्रबारे प्रत्यक्ष जानकारी दिने साझा प्लेटफर्म हुने नेक्साले जनाएको छ।
नेक्साका अध्यक्ष सन्तोष खनालका अनुसार मेलामा सहभागी विद्यार्थीहरूले कोरियाली विश्वविद्यालयका विशेष छात्रवृत्ति, सहुलियत र पढ्दै कमाउने अवसरबारे विस्तृत जानकारी पाउने छन्। उनका अनुसार कोरियाको शिक्षाप्रणाली अन्तर्राष्ट्रिय विद्यार्थीमैत्री, अनुसन्धान–केन्द्रित र प्राविधिक दक्षतामा आधारित भएकाले पछिल्ला वर्षमा कोरिया नयाँ अध्ययन गन्तव्यका रूपमा उदाउँदै गएको छ।
मेलामा करिब ५ हजार विद्यार्थीको सहभागिता अपेक्षित गरिएको छ। उक्त अवसरका लागि कोरियाका प्रमुख विश्वविद्यालय—डेवोन विश्वविद्यालय, येवेन कला विश्वविद्यालय, डोन युइ विश्वविद्यालय र नामस्वेल विश्वविद्यालयका डीन तथा प्रतिनिधिहरूसहित करिब ४० शैक्षिक संस्थाका प्रतिनिधि काठमाडौँ आउने भएका छन्।
नेक्साका अनुसार मेलाले नेपाली विद्यार्थीलाई कोरियामा उच्च अध्ययनका सम्भावना र त्यहाँको आधुनिक शैक्षिक पूर्वाधारबारे प्रत्यक्ष संवाद र अन्तरक्रियाको अवसर प्रदान गर्नेछ।





