काठमाडौँ। डोटीमा एक शिक्षिका मृतावस्थामा फेला परेको घटनामा प्रहरीले एक विद्यालय निरीक्षकलाई पक्राउ गरेको छ। प्रेम सम्बन्धमा परेको मानसिक तनावका कारण आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा शिक्षा तथा समन्वय एकाइ डोटीका २८ वर्षीय विद्यालय निरीक्षक गणेश रावललाई पक्राउ गरिएको हो।
मृतक २७ वर्षीया जानकी खड्का बाजुराको भानुदय नमुना माध्यमिक विद्यालयमा गणित शिक्षिका थिइन्। डोटीको पूर्वीचौकी गाउँपालिका–१ तल्लो फुलौटकी खड्का सोमबार दिउँसो घरबाट सम्पर्कविहीन भएको भन्दै खोजी भइरहेको अवस्थामा करिब ७०० मिटर टाढा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।
जिल्ला प्रहरी कार्यालय डोटीका डीएसपी दीपेन्द्र पालका अनुसार मृतक पक्षले दिएको किटानी जाहेरीका आधारमा रावललाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार खड्काको सुत्ने कोठामा मोबाइल कभर पछाडि सुसाइड नोट फेला परेको छ।
सुसाइड नोटमा रावलले दिएको मानसिक तनावका कारण आफूले जीवन समाप्त गर्न बाध्य भएको उल्लेख छ। नोटमा रावल विवाहित तथा सन्तान भएका व्यक्ति भएको र सामाजिक सञ्जालमार्फत सम्पर्कमा आएर फसाएको आरोप लगाइएको छ। नोटमा “कसैको श्रीमान् र बुवा भइसकेको मान्छेसँग जीवन जिउन नसकिने” भन्ने उल्लेख पनि भेटिएको प्रहरीले जनाएको छ।
मृतकका भाइ प्रदीप खड्काका अनुसार जानकी परिवारकी जेठी सन्तान तथा मध्यमवर्गीय परिवारको मुख्य आयस्रोत थिइन्। उनले कमाएको आम्दानीकै भरमा रक्तचाप र माइग्रेनका बिरामी पिता–माता आश्रित रहेको बताए। उनले रावलले दिदीसँग विवाह गर्ने दबाब दिएको र अस्वीकार गरे ज्यानमार्ने धम्की दिएको आरोपसमेत लगाएका छन्।
प्रहरीका अनुसार रावल विवाहित भई सन्तानसमेत भएका व्यक्ति भए पनि श्रीमतीसँग सम्बन्धविच्छेद भएको जानकारी प्राप्त भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।





