काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आफूलाई कुनै पनि औपचारिक कार्यक्रमहरूमा निमन्त्रणा नगर्न आग्रह गरेका छन्। सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले विशेष गरी उद्घाटन र शिलान्यास कार्यक्रमका लागि प्रमुख अतिथिको रूपमा निम्तो नपठाउन अनुरोध गरेका हुन्।
पुनले लेखेका छन्, “कृपया कसैले पनि र कहिँबाट पनि हालको म मन्त्रीलाई उद्घाटन/शिलान्यास कार्यक्रम, प्रमुख अतिथि हुने जस्ता कुनै पनि औपचारिक कार्यक्रमहरूमा निमन्त्रणा गर्दै नगर्नु होला।”
उनका अनुसार आफूले सम्पूर्ण समय काममा केन्द्रित गर्न चाहेकाले अनावश्यक समारोहहरूमा सहभागी नहुने निर्णय गरेका हुन्। उनले युनेस्कोको महासभा (उज्बेकिस्तान) र ब्रिटिश काउन्सिलको सम्मेलन (नाइजेरिया) समेतमा नगएको जानकारी दिँदै भनेका छन्, “अत्यावश्यक र नगई नहुने काममा मात्रै केही मन्त्रीहरू विदेश गएका हुन्, त्यसैले ‘विदेश घुम्यो’ भन्ने हल्ला नगर्नुहोस्।”
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापकसमेत रहेका पुन मन्त्री बनेपछि आफ्नो सरल र व्यावहारिक कार्यशैलीका कारण सार्वजनिक चर्चा र प्रशंसा दुवैका केन्द्रमा छन्।





