काठमाडौं । तिहार सकिएलगत्तै नेपाली बजारमा सुनको मूल्यमा ठूलो गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि सुनको भाउ प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ ।
तिहारअघि अर्थात् कात्तिक ३ गते प्रतितोला २ लाख ५३ हजार ५ सय रुपैयाँ मा कारोबार भइरहेको सुन आइतबार ११ हजार ६ सय रुपैयाँले सस्तो भएको हो । महासंघले तिहार अवधिमा सार्वजनिक बिदाका कारण मूल्य समायोजन गर्न नसकेपछि, सुनको नयाँ दर आइतबारदेखि मात्रै लागू गरिएको जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ । कात्तिक ४ गतेसम्म आइपुग्दा विश्व बजारमा सुनको मूल्य करिब ५ प्रतिशतले घटेर प्रतिऔंस ४३५८ अमेरिकी डलरबाट ४१११ डलरमा झरेको छ । एक औंस बराबर २.४३ तोला हुने भएकाले अन्तर्राष्ट्रिय मूल्य घट्दा त्यसको असर नेपाली बजारमा प्रत्यक्ष देखिएको हो ।
यसअघि असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च स्तरमा पुगेर प्रतितोला २ लाख ५८ हजार रुपैयाँ मा पुगेको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । तिहारअघि प्रतितोला ३ हजार २८० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ३ हजार १५ रुपैयाँमा झरेको छ, जसअनुसार चाँदी प्रतितोला २६५ रुपैयाँले सस्तो भएको हो । सुन र चाँदी दुवैको मूल्य घटेपछि गहना व्यवसायी र लगानीकर्ताले बजारमा केही दिन मूल्य स्थिर रहोस् भन्ने आशा व्यक्त गरेका छन् ।
सुन प्रतितोला ११,६०० रुपैयाँले घटेर २,४१,९०० मा
अन्तर्राष्ट्रिय बजारमा करिब ५% गिरावट
चाँदी पनि २६५ रुपैयाँले सस्तो
असोज ३१ गते सुन २,५८,००० र चाँदी ३,३५० मा पुगेको थियो





