२९औं वर्षमा नवकान्तिपुर सहकारी, नवीनतम सेवा प्रवाह गर्ने प्रतिबद्धता



काठमाडौं । बत्तिसपुतलीमा प्रधान कार्यालय रहेको नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्थापनाको २९औं वर्षमा प्रवेश गरेको छ। संस्था २०५४ भदौ २४ गते दर्ता भई असोज ७ गतेदेखि सेवा सञ्चालनमा आएको हो।

काठमाडौं, भक्तपुर र ललितपुरलाई कार्यक्षेत्र बनाई सञ्चालन हुँदै आएको संस्थाले वित्तीय कारोबारसँगै सदस्यमुखी थप सेवाहरू पनि प्रवाह गर्दै आएको छ।

स्थापना दिवसको अवसरमा सहकारीले आफ्ना सेयर सदस्यप्रति आभार प्रकट गर्दै आगामी दिनमा सेवा तथा सुविधामा नवीनता थप्दै प्रतिफलमुखी सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएको छ।

चालु आर्थिक वर्षको भदौ मसान्तसम्म आइपुग्दा संस्थामा ८ हजार ८५६ जना सेयर सदस्य आवद्ध भएका छन्। हाल संस्थाको सेयर पुँजी ९ करोड २२ लाख, जगेडा कोष २० करोड ४४ लाख, कुल संस्थागत पुँजी २० करोड ४८ लाख, विभिन्न कोष १० लाख रहेको छ।

त्यस्तै कुल बचत २ अर्ब १९ करोड ९४ लाख, कुल कर्जा १ अर्ब ३२ करोड १८ लाख, बैंक तथा नगद मौज्दात १ अर्ब १ करोड रहेको छ। सहकारीको हालसम्मको कुल सम्पत्ति २ अर्ब ७२ करोड ३५ लाख रुपैयाँ पुगेको छ।

प्रकाशित मिति : २०८२ असोज ७ गते मङ्गलवार