काठमाडौँ । स्नो रिभर्स लिमिटेडको चौथो वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ । कम्पनीको साधारणसभा काठमाडौंको नक्सालस्थित लिसरा रिसेप्सन्स प्रा.लिमा अपरान्ह ४ बजे सुरु भएको थियो ।
सभामा कम्पनीका अध्यक्षले आ.व. २०८१/८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साथै लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गरिएको छ ।
साधारणसभाले आ.व. २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने निर्णय गरेको छ । सञ्चालक समितिका सदस्यहरुको बैठक भत्ता अनुमोदन, स्वतन्त्र सञ्चालक नियुक्ति तथा व्यक्तिगत र संस्थागत जमानीसम्बन्धी निर्णयलाई पनि अनुमोदन गरिएको कम्पनीले जनाएको छ ।
यसैगरी, कम्पनीले आ.व. २०८१/८२ को मुनाफाबाट चुक्ता पूँजीको करसहित ४.२११ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
विशेष प्रस्तावअन्तर्गत स्वतन्त्र सञ्चालकको कार्यकालसम्बन्धी कम्पनी नियमावली संशोधन गर्ने प्रस्ताव पारित गरिएको छ । साथै, नेपाल धितोपत्र बोर्ड र विद्युत नियमन आयोगलगायत नियामक निकायको निर्देशनअनुसार आवश्यक परे कम्पनीको प्रवन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गरेको छ ।





