भाटभेटनी लुटपाटमा संलग्न कालिका माविका शिक्षक निष्कासित



बुटवल । बुटवलको भाटभटेनी सुपरमार्केटमा जेनजी समूहले गरेको तोडफोड तथा लुटपाटमा संलग्न भएको आरोपमा कालिका मानव ज्ञान माविका एक शिक्षकलाई निष्कासन गरिएको छ।

भदौ २४ गते राति भएको घटनामा संलग्न भएको पुष्टि भएपछि विद्यालयले कम्प्युटर विषय पढाउँदै आएका शिक्षक शिवसंकर शुक्लालाई पदबाट हटाएको हो। कपिलवस्तु निवासी शुक्ला तीन वर्षदेखि उक्त विद्यालयमा निजी स्रोतको शिक्षकका रूपमा कार्यरत थिए।

लुटपाटमा संलग्न रहेको तस्बिर र भिडियो सार्वजनिक भएपछि विद्यालयले उनलाई स्पष्टीकरण मागेको थियो। तर, शुक्लाले जवाफ दिन नसकेपछि विद्यालयले कारबाही प्रक्रिया अघि बढाएको प्रधानाध्यापक दिनेश थापाले जानकारी दिए।

‘हिजो बिहान स्पष्टीकरण मागेका थियौँ, तर उनले जवाफ दिन सकेनन्,’ थापाले भने, ‘प्रमाणसमेत स्पष्ट भएपछि विद्यालयले निष्कासनको निर्णय गरेको हो।’

जेनजी समूहको तोडफोड र आगजनीबाट भाटभटेनी सुपरमार्केट ठूलो क्षति पुगेको छ भने हाल मर्मत र पुनःनिर्माणको काम भइरहेको छ।

प्रकाशित मिति : २०८२ भाद्र २८ गते शनिवार