बुवाको सट्टा परीक्षा दिइरहेको अवस्थामा कांग्रेस क्षेत्रीय सभापतिका छोरा पक्राउ



वीरगञ्ज | ठाकुरराम बहुमुखी क्याम्पसमा बुवाको सट्टा परीक्षा दिँदै गरेका २५ वर्षीय मोहम्मद अफताब आलम पक्राउ परेका छन्। पर्सा, वीरगञ्ज–३ छपकैया निवासी आलमले आफ्ना बुवा तथा नेपाली कांग्रेस पर्सा–२ का क्षेत्रीय सभापति मोहम्मद शहाबुद्दीन अन्सारीको नाममा राजनीति शास्त्र स्नातकोत्तर तहको तेस्रो सेमेस्टरको परीक्षा दिइरहेका बेला पक्राउ गरिएको हो।

क्याम्पस प्रमुख मोहन यादवका अनुसार प्रवेशपत्रमा रहेको फोटो र अनुहार नमिलेपछि नक्कली परीक्षार्थी पहिचान गरी प्रहरीले नियन्त्रणमा लिएको हो। यस विषयमा त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासन नियमावलीअनुसार कारबाही अघि बढाइने बताइएको छ।

उक्त नियमअनुसार अरूलाई परीक्षामा सम्मिलित गराएको प्रमाणित भए परीक्षार्थीलाई बढीमा चार वर्षसम्म निष्कासन गर्न सकिने र फौजदारी अभियोगसमेत चलाउन सकिने व्यवस्था छ। जिल्ला प्रहरी कार्यालय पर्साका एसपी गौतम मिश्रले क्याम्पस प्रशासनको पत्रका आधारमा कानूनी कारबाही अघि बढाइने जानकारी दिएका छन्।

शहाबुद्दीन अन्सारीविरुद्ध यसअघि नै दोहोरो नागरिकताको मुद्दा अदालतमा विचाराधीन छ।

प्रकाशित मिति : २०८२ भाद्र २२ गते आइतवार