काठमाडौं । गैह्रीगाउँस्थित नीलोआकाश बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १८औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष गणेश प्रसाद अधिकारीको सभापतित्वमा तथा संस्थापक अध्यक्ष एवं सल्लाहकार शान्तप्रसाद तिमल्सिनाको प्रमुख आतिथ्यमा सम्पन्न सभाले आर्थिक वर्ष २०८१/८२ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ।
सभाले समीक्षा आर्थिक वर्षको वासलात, लेखापरीक्षण प्रतिवेदन, नगद प्रवाह विवरण, नाफा–नोक्सान हिसाबसहितका वित्तीय विवरण पनि पारित गरेको छ। प्रतिवेदन अनुसार, चालु आर्थिक वर्षमा संस्थाको शेयर पूँजी रु. ४,७०,२५,००९ पुगेको छ। निक्षेप रु. २५,८६,५१,०१७ र कर्जा प्रवाह रु. ३२,३९,०६,४९६ रहेको छ। कर अगाडिको नाफा रु. १,७०,२३,४४० आर्जन गर्न सफल भएको सहकारीले जनाएको छ। सोही क्रममा जगेडा कोष रु. ३,६८,२७,६१६ पुगेको छ।
कार्यक्रममा अध्यक्ष अधिकारीले संस्थाको तरलता सुदृढ बनाउन स्थिरीकरण कोषमा नियमित रकम जम्मा भइरहेको बताए। उनले सहकारीलाई समयानुकूल प्रविधिमैत्री बनाउन सदस्यहरुलाई क्युआर कोड वितरण गरिएको, मोबाइल बैंकिङ प्रणाली सुरु गरिएको र आगामी दिनमा रणनीतिक योजनाको समीक्षा तथा नयाँ योजना निर्माण गर्दै सहकारीलाई अझ प्रभावकारी बनाउन प्रतिबद्ध रहेको स्पष्ट पारे।





