‘मिस भिवा-२०२५’ को उपाधि जेशिका सिंह ठकुरीलाई



काठमाडौं । ‘मिस भिवा–२०२५’ को ग्रान्ड फाइनल बुधबार राजधानीस्थित याक एण्ड यति होटलमा भव्य रुपमा सम्पन्न भएको छ । प्रतियोगितामा १५ जना अन्तिम प्रतिस्पर्धीलाई पछि पार्दै जेशिका सिंह ठकुरी विजेता बनेकी छन् ।

निसिता जोशी फर्स्ट रनर–अप, निशा श्रेष्ठ सेकेन्ड रनर–अप, आस्मा रिजाल थर्ड रनर–अप र टिना परियार फोर्थ रनर–अप बनेका छन् ।

प्रतियोगितामा विभिन्न उपाधिहरु पनि प्रदान गरिएको थियो । ‘मिस आईसीटी अवार्ड’ आस्मा रिजालले, ‘मिस ब्यूटिफुल स्किन’ र ‘बेस्ट इन इभिनिङ गाउन’ जेशिका सिंह ठकुरीले, ‘मिस बेस्ट मेकअप लुक’ निशा श्रेष्ठले, ‘मिस बेस्ट इन स्विमसुट’ टिना परियारले र ‘मिस इको क्विन’ आकृति घिमिरेले जिते ।

कार्यक्रममा ‘मिस ग्रान्ड इन्डिया–२०२५’ की विजेता विशाखा कंवरको विशेष सहभागिता रहेको थियो । आयोजक उमङ्ग क्रिएसनका संस्थापक उद्धव अधिकारीका अनुसार यो प्रतियोगिता छैटौँ संस्करण हो । सन् २०२३ सम्म विजेतालाई ‘मिस युनिभर्स’ पठाइए पनि त्यसपछि ‘मिस ग्रान्ड इन्टरनेशनल’मा सहभागी गराउने व्यवस्था गरिएको हो ।

यसपटकको विजेताले अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई प्रतिनिधित्व गर्ने अवसर पाउनेछन् भने अन्य रनर–अपहरूले विभिन्न पुरस्कार हात पार्नेछन् । संस्थापक अधिकारीका अनुसार भारतसँग सहकार्य गर्दै प्रतियोगितालाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने तयारी भइरहेको छ ।

उनका अनुसार यस्ता सौन्दर्य प्रतियोगिताले सौन्दर्य मात्र नभई सांस्कृतिक आदान–प्रदान र पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने विश्वास गरिएको छ । विजेतालाई श्री ओम ज्वेलर्सले डिजाइन गरेको करिब २५ लाख रुपैयाँ मूल्य बराबरको आकर्षक क्राउन प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २०८२ भाद्र १२ गते बिहिवार