दारु खाएर वडा कार्यालयमै वडाध्यक्षले कुटे शिक्षक, देशभर आक्रोश



रौतहट । बाराको प्रसौनी गाउँपालिका–६ का वडाध्यक्ष बृजकिशोर कुशवाहाले शिक्षक नागेश्वर यादवलाई नग्न पारेर कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि व्यापक आक्रोश फैलिएको छ।

मदिरा सेवन गरेका अवस्थामा करिब आठजनाको समूहसहित वडा कार्यालयमै शिक्षकलाई निर्घात कुटपिट गरिएको भिडियो सार्वजनिक भएपछि राजनीतिक संस्कृतिप्रति गम्भीर प्रश्न उठेको हो।

घटना बाहिरिएपछि नेकपा (माओवादी केन्द्र) ले कुशवाहालाई ६ महिनाका लागि पार्टी सदस्यता निलम्बन गरेको छ। तर, स्थानीयले कानुनी कारबाहीको माग गर्दै पार्टी निलम्बन मात्र पर्याप्त नभएको बताएका छन्।

विश्लेषकहरूले यो घटना शिक्षकको सम्मानप्रति अपमानजनक दृष्टिकोण र स्थानीय तहमा बढ्दो शक्ति दुरुपयोगको परिणाम भएको बताएका छन्।

प्रकाशित मिति : २०८२ भाद्र ११ गते बुधवार