‘मिस भिवा–२०२५’ को ग्रान्ड फाइनल भदौ ११ मा



काठमाडौं । ‘मिस भिवा–२०२५’ को ग्रान्ड फाइनल आउँदो भदौ ११ गते (अगस्ट २७) याक एण्ड यति होटलमा हुने भएको छ। सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत करिब २५ लाख रुपैयाँ मूल्य बराबरको आधिकारिक क्राउन सार्वजनिक गरिएको छ।

आयोजक संस्था उमङ्ग क्रिएसनका संस्थापक उद्धव अधिकारीले १६ जना फाइनलिस्टसहित उक्त आकर्षक क्राउन सार्वजनिक गरेका हुन्। श्री ओम ज्वेलर्सले डिजाइन गरेको उक्त क्राउन विजेतालाई प्रदान गरिनेछ।

यस प्रतियोगिता छैटौं संस्करण हो। सन् २०२३ सम्म विजेताले मिस युनिभर्स मा प्रतिनिधित्व गर्दै आएकोमा हालदेखि मिस ग्रान्ड अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ।

संस्थापक अधिकारीका अनुसार विजेताले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउनेछन् भने फर्स्ट रनर–अपदेखि चौथो रनर–अपसम्मले पनि विभिन्न पुरस्कार प्राप्त गर्नेछन्।

यस संस्करणदेखि भारतसँग सहकार्य गर्दै प्रतियोगितालाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने तयारी भइरहेको आयोजकले जनाएको छ। सो क्रममा ‘मिस इण्डिया–२०२५’ भोलि (मङ्गलबार) नेपाल आउने कार्यक्रम छ।

आयोजक अधिकारीका अनुसार यस्ता प्रतियोगिताले सौन्दर्य मात्र नभई संस्कृति आदान–प्रदान र पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने विश्वास गरिएको छ।

प्रकाशित मिति : २०८२ भाद्र ९ गते सोमवार