ईसीडी शिक्षकले राम्रो तलब पाउँदैनन् अनि कसरी शिक्षामा गुणस्तर आउँछ



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शिक्षकमाथि राज्यले उचित मूल्यांकन नगरेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्।

शुक्रबार काठमाडौंस्थित ज्ञानज्योति महिला माध्यमिक विद्यालयको २०औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले शिक्षा प्रणालीको वर्तमान अवस्थाबारे आफ्नो धारणा राख्दै भने, “हामी नेपालीहरूमा क्षमता छैन भन्ने होइन, क्षमता छ। तर त्यो क्षमतालाई उजागर गर्न सकिरहेका छैनौं।”

शिक्षकहरूको तलब संरचनाप्रति असन्तुष्टि जनाउँदै कोइरालाले थपे, “कार्यालय सहायकको भन्दा शिक्षकको तलब कम छ यो देशमा। यस्तो पनि हुन्छ? अनि शिक्षकहरूले कसरी मन लगाएर काम गर्ने? यसबारे सोच्न जरुरी छ।”

उनले शिक्षा क्षेत्रका समस्या समाधान गर्न राज्य गम्भीर हुनुपर्ने उल्लेख गर्दै हाल शिक्षकसम्बन्धी विधेयक निर्माण भइरहेको सन्दर्भमा सामुदायिक र सरकारी विद्यालयलाई गुणस्तरीय बनाउन प्राथमिकता दिनुपर्नेमा जोड दिए।

कोइरालाका अनुसार शिक्षकको कम तलबले विद्यार्थीको पढाइमा प्रत्यक्ष असर पर्छ। शिक्षा नै राष्ट्रको समृद्धिको मूल आधार भएको भन्दै उनले सरकारले शिक्षा क्षेत्रमा पर्याप्त लगानी गर्नुपर्ने आग्रह गरे। “देशको आर्थिक अवस्था कमजोर छ तर शिक्षा नै सबैभन्दा महत्वपूर्ण कुरा हो। कुनै पनि देशलाई विश्वमा चिनाउने माध्यम शिक्षा नै हो भन्ने बुझ्न जरुरी छ,” उनले भने।

प्रकाशित मिति : २०८२ भाद्र ६ गते शुक्रवार