युनाइटेड गोरखा सहकारीको १३ करोड रुपैयाँ अपचलन, एमाले नेतृ ढकालको नाम जोडियो



काठमाडौं । युनाइटेड गोरखा बचत तथा ऋण सहकारी संस्थाकी तत्कालीन उपाध्यक्ष तथा एमाले नेतृ सीता ढकाल पौडेलले करिब १३ करोड रुपैयाँ अपचलन गरेको पाइएको छ । उनले बचतकर्ताबाट संकलन भएको रकम जलेश्वरस्थित स्वच्छन्द बिकोइ बिल्डर्सलाई भवन निर्माणका लागि दिएको तर हालसम्म फिर्ता नआएपछि संस्थामा ठूलो समस्या देखिएको हो ।

पौडेलले स्वच्छन्द बिकोइ बिल्डर्सका अध्यक्ष मनोजकुमार भेटवाललाई पटक–पटक गरेर १२ करोड ८१ लाख रुपैयाँ बराबरको रकम बुझाएकी थिइन् । दुवै पक्षबीच लिखतसहितको सहमति भए पनि तोकिएको समयमा चेक असुल हुन नसकेपछि बचतकर्ताको रकम अल्झिएको छ । भेटवालले ४ करोड र ८ करोड ८१ लाखका दुई चेक दिएका थिए, तर दुबै चेक फिर्ता हुन सकेनन् ।

करिब ७ सय सदस्य र १० करोड हाराहारीको बचत रहेको यस सहकारीमा अहिले बचतकर्ताले रकम फिर्ता लिन नसक्दा समस्या चर्किएको छ । सहकारीकै स्रोतका अनुसार यो मुद्दा राजनीतिक दबाबका कारण सार्वजनिक हुन ढिला भएको र अझै कानुनी प्रक्रियामा अघि बढ्न नसकेको हो ।

पौडेल एमाले बागमती प्रदेश कमिटी सदस्य मात्र नभई सहकारी तथा गरिबी निवारण बागमती प्रदेशकी प्रमुख र नेफ्स्कुनकी सञ्चालकसमेत हुन् । उनले भने यो रकम आफूले व्यक्तिगत रूपमा होइन, संस्थाका ऋणीमार्फत बिल्डर्सलाई पुगेको भन्दै जिम्मेवारी पन्छाउने प्रयास गरेकी छन् ।

तर, लगातार रकम असुल नभएपछि संस्थाको सञ्चालन नै प्रभावित बनेको छ । हालसम्म बिल्डर्स कम्पनीले सानो मात्र रकम बुझाएको भए पनि बाँकी ठूलो हिस्सा अझै फिर्ता भएको छैन । यसले बचतकर्ताको रकम डुब्ने खतरा बढाएको भन्दै सहकारी क्षेत्रमै चासो बढेको छ ।

प्रकाशित मिति : २०८२ भाद्र २ गते सोमवार