ललितपुर – ललितपुर महानगरपालिकाले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई)मा उत्कृष्ट अंक ल्याएका सामुदायिक र संस्थागत विद्यालयका ८६ जना विद्यार्थीलाई शुक्रबार सम्मानसहित पुरस्कृत गरेको छ।

महानगरले २२ वटा संस्थागत विद्यालयका ७८ जना र ६ वटा सामुदायिक विद्यालयका ८ जना गरी ८६ विद्यार्थीलाई जनही दुई लाख रुपैयाँ हस्तान्तरण गरेको हो। यसैगरी सामुदायिक विद्यालयलाई थप ४ लाख रुपैयाँ उपलब्ध गराइएको छ।
पुरस्कार प्राप्त गर्ने मापदण्ड अनुसार, सामुदायिक विद्यालयतर्फ ३.९५ भन्दा माथि जिपिए ल्याउने र संस्थागत विद्यालयतर्फ ४.०० जिपिए ल्याउने विद्यार्थीलाई सम्मान गरिएको हो।
-
संस्थागततर्फ धापाखेलस्थित जेम्स स्कुलका १६ जना विद्यार्थीले ४ जिपिए ल्याएका छन्।
-
सामुदायिकतर्फ बुङमतीको आर्दश सौल युवक माध्यमिक विद्यालयका ३ मध्ये १ जनाले ४.०० जिपिए र २ जनाले ३.९६ जिपिए ल्याएका छन्।
यसवर्ष ललितपुर महानगर क्षेत्रमा ९१.५१% विद्यार्थी उत्तीर्ण भएका छन्।
-
सामुदायिक विद्यालयतर्फ उत्तीर्ण दर ८१.०५%,
-
संस्थागत विद्यालयतर्फ भने ९४.९०% रहेको छ।
महानगर प्रमुख चिरीबाबु महर्जनले विद्यार्थी र विद्यालयलाई गरिएको यो सम्मान महानगर शिक्षाको हब भएको प्रमाण हो भन्दै यसले विद्यार्थीलाई थप प्रेरणा दिने बताए। उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले विद्यार्थीलाई जीवनका अझ ठूलो चुनौतीका लागि तयार रहन सुझाव दिइन्।
प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले विद्यार्थी, विद्यालय र अभिभावकको मिहेनतकै परिणाम उत्कृष्टता आएको बताइन्। प्रवक्ता राजु महर्जनले कोभिडपश्चात् सुरु गरिएको यो सम्मानले शैक्षिक गुणस्तर सुधारमा योगदान दिएको स्पष्ट पारे।
यसैगरी जिल्ला समन्वय समितिका सभापति ऋषिदेव फुँयालले यो अभ्यासलाई शिक्षा क्षेत्रकै असल पहल भनेका छन् भने प्रमुख जिल्ला अधिकारी रमेश ढकालले विद्यार्थीलाई जिम्मेवार र इमान्दार भएर अघि बढ्न शुभकामना दिएका छन्।
कार्यक्रममा पुरस्कृत विद्यार्थी तथा अभिभावकले पनि आफ्नो अनुभव र भावना व्यक्त गरेका थिए।





