काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा वाणिज्य बैंकहरूले उल्लेखनीय नाफा आर्जन गरेका छन्। बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार, २० वटा वाणिज्य बैंकको कुल खुद नाफा ७१ अर्ब ५१ करोड ७ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४३.३९ प्रतिशत अर्थात् २१ अर्ब ६३ करोड रुपैयाँ बढी हो। अघिल्लो वर्ष यो रकम ४९ अर्ब ८७ करोड रुपैयाँ मात्र थियो।
चार बैंकबाहेक सबै बैंकको नाफा बढेको छ। सबैभन्दा धेरै नाफा नबिल बैंकले कमाएको छ, जसले ७ अर्ब १२ करोड रुपैयाँ नाफा आर्जन गर्दै अघिल्लो वर्षको तुलनामा १५.०१ प्रतिशतले वृद्धि गरेको हो। दोस्रो स्थानमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (NIMB) रह्यो, जसको नाफा ६४.४३ प्रतिशत बढेर ६ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ।
ग्लोबल आइएमई बैंकले ६ अर्ब २० करोड रुपैयाँ नाफा आर्जन गर्दै १.०९ प्रतिशत वृद्धि गरेको छ भने प्रभु बैंकको नाफा अभूतपूर्व ९६५ प्रतिशतले बढेर ५ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ।
नेपाल बैंकको नाफा १३,१७५ प्रतिशतले बढेर ३ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ भने कुमारी बैंकको नाफा वृद्धि दर ४५,८२९ प्रतिशत पुगेको छ, जसले समग्र बैंकिङ क्षेत्रमा उच्चतम वृद्धिदर हो।
तर, केही बैंकको नाफा घटेको पनि छ। एनआईसी एशिया बैंकको नाफा ७६.९६ प्रतिशतले घटेर १६ करोड रुपैयाँमा झरेको छ, नेपाल एसबिआई बैंकको नाफा ९.८६ प्रतिशत र सिटिजन्स बैंकको नाफा २ प्रतिशतले घटेको छ।
बैंकिङ क्षेत्रमा यो नाफा वृद्धि मागमा सुधार, ब्याजदर व्यवस्थापन र वित्तीय कारोबारको विस्तारसँग सम्बन्धित देखिएको विश्लेषकहरूको भनाइ छ।





