हिमालयन डिस्टिलरीको खुद नाफा ९५ करोड ३२ लाख रुपैयाँ



काठमाडौं । हिमालयन डिस्टिलरी लिमिटेडको नाफामा उल्लेखनीय वृद्धि भएको छ। कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिस्कृत चौथो त्रैमासिक वित्तीय विवरणअनुसार, कम्पनीको खुद नाफा २.६ गुणा बढ्दै ९५ करोड ३२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यो रकम ३६ करोड ५० लाख रुपैयाँ मात्र थियो।

कम्पनीको नाफा बढ्नुमा बिक्री आम्दानीमा आएको तीव्र वृद्धि मुख्य कारण रहेको छ। गत आर्थिक वर्षमा हिमालयन डिस्टिलरीको सञ्चालन आम्दानी ७ अर्ब २० करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ४ अर्ब १५ करोड रुपैयाँको तुलनामा करिब ७३ प्रतिशतले बढी हो।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी (EPS) पनि उल्लेखनीय रूपमा बढेको छ। अघिल्लो आर्थिक वर्षमा EPS ११ रुपैयाँ ८८ पैसा रहेकोमा, गत वर्ष यो बढेर ३१ रुपैयाँ २ पैसा पुगेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १३५.८४ रुपैयाँ रहेको छ भने बजारमा यसको सेयर मूल्य १,३३३ रुपैयाँमा कारोबार भइरहेको छ।

वित्तीय विश्लेषकहरूका अनुसार, बिक्री वृद्धि र लागत व्यवस्थापनमा आएको सुधारका कारण कम्पनीको लाभांश वितरण क्षमतामा पनि सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२ साउन ३१ गते शुक्रवार