काठमाडौं। समस्याग्रस्त घोषित सहकारी संस्थाहरूका जग्गाजमिन लिलाम गर्दै आएको सरकारी समितिले अब उनीहरूको स्वामित्वमा रहेका गाडी पनि लिलामी गर्ने भएको छ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आज सूचना जारी गर्दै गाडी खरिदका लागि इच्छुकहरूलाई सिलबन्द निवेदन पेश गर्न आह्वान गरेको हो। समितिका सदस्य–सचिव केशवप्रसाद पौडेलका अनुसार जफत गरिएका दुईपाङ्ग्रे र चारपाङ्ग्रे गरी कुल २१ वटा गाडी लिलामीमार्फत बिक्री गर्न लागिएको छ।
समितिले सम्पत्ति लिलाम गरेर आउने रकम पीडित बचतकर्तालाई वितरण गर्दै आएको छ। हालसम्म समस्याग्रस्त घोषित सहकारी संस्थाको संख्या २२ पुगेको छ। समितिका अनुसार यी संस्थाका ऋणीहरूले ३८ अर्ब ४२ करोड रुपैयाँ मागदाबी गरेका छन्, जसमा करिब चार अर्ब रुपैयाँ फिर्ता र हिसाब मिलान भइसकेको छ।
समितिले समस्याग्रस्त सहकारी संस्थाहरूका सञ्चालक र व्यवस्थापकका चल–अचल सम्पत्ति, बैंक खाता र शेयरहरू समेत रोक्का गर्दै आएको जनाएको छ।





