अन्तिम मिनेटमा गोल गर्दै नेपालले साउदी अरबलाई हरायो



काठमाडौं । भुटानको थिम्पुमा जारी एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो खेलमा नेपालले साउदी अरेबियामाथि १–० को संघर्षपूर्ण जित हासिल गरेको छ।

थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा भएको खेलमा नेपालका लागि विजयी गोल ९०औं मिनेटमा शुक्रिया मियाँले गरिन्। मिना देउवाको पासमा मियाँले ट्याप–इन मार्फत गोल गर्दै टोलीलाई महत्वपूर्ण तीन अंक दिलाइन्।

खेलमा साउदीले पनि केही अवसरहरू सिर्जना गरे पनि गोल गर्न सकेन। नेपालले ३७औं मिनेटमा पेनाल्टीमार्फत अग्रता लिने मौका पाएपनि मिना देउवाको प्रहार बारमा लागेर फर्किएको थियो।

नेपालले पहिलो खेलमा भुटानसँग १–१ को बराबरी खेलेको थियो भने साउदी अरेबियाले आफ्नो पहिलो खेलमा उत्तर कोरियासँग १५–० को ठूलो हार बेहोरेको थियो।

यो जितसँगै नेपाल समूह चरणमा प्रतिस्पर्धी बनेको छ। अब उसले बलियो टोली उत्तर कोरियासँग आइतबार निर्णायक खेल खेल्नेछ। प्रतियोगिताबाट हरेक समूहको विजेता र तीन उत्कृष्ट उपविजेता एसियन कपमा छनोट हुनेछन्।

प्रकाशित मिति : २०८२ साउन २४ गते शुक्रवार