काठमाडौं । बागमती प्रदेश सरकारले गाईजात्रा पर्वको अवसरमा आगामी आइतबार साउन २५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार प्रदेश मन्त्रिपरिषद्को बैठकबाट पारित निर्णय प्रदेश राजपत्रमा प्रकाशित भइसकेको छ।
यसअन्तर्गत बागमती प्रदेशभित्रका सबै सरकारी कार्यालय, शैक्षिक संस्था तथा निजी संघ–संस्था आइतबार बन्द रहने छन्। नेवार समुदायले विशेष रूपमा मनाउने गाईजात्रा काठमाडौं उपत्यकासहित बागमती प्रदेशका विभिन्न जिल्लामा पितृ सम्झनाको प्रतीकस्वरूप मनाइन्छ।
यस पर्वमा गाईको स्वरूपमा सजिएर टोलटोलमा घुम्ने, नाचगान गर्ने र सांस्कृतिक झाँकी प्रदर्शन गर्ने परम्परा रहिआएको छ। प्रदेश सरकारले सांस्कृतिक तथा धार्मिक विविधतालाई सम्मान गर्नका लागि हरेक वर्ष गाईजात्रामा प्रदेशस्तरीय बिदा घोषणा गर्दै आएको हो।
यस वर्षको गाईजात्रामा काठमाडौं, भक्तपुर, ललितपुरसहितका नेवार बस्तीहरूमा विशेष कार्यक्रम र सांस्कृतिक प्रदर्शन हुने तयारी गरिएको छ। यस दिन सेयर बजार पनि बन्द रहनेछ।





