काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको २९औं वार्षिक साधारणसभा आज अध्यक्ष राजेन्द्र मल्लको अध्यक्षतामा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८०/८१ का लागि १८ प्रतिशत बोनस सेयर र ०.९४७४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
यस्तै, कम्पनीको २८औं साधारणसभाबाट पारित ५०.१५ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णयलाई संशोधन गर्दै, प्रस्तावित बोनस सेयर वितरणपश्चात कायम हुने चुक्ता पुँजीको ४७ प्रतिशतका दरले हकप्रद सेयर जारी गर्ने निर्णय गरिएको छ। हकप्रद सेयर पारित गर्दा भिन्न अंकमा आउने सेयरलाई संस्थापक र सर्वसाधारण सेयरधनीको अनुपात यथावत राखी नजिकको पूरा अंक कायम गर्ने प्रस्ताव पनि पारित गरिएको छ।
सभाले संचालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदनमाथि छलफल गरी सर्वसम्मत पारित गरेको छ। सभामा बोल्ने अधिकांश सेयरधनीहरूले लाभांशको दर घटाउन नहुने सुझाव दिएका थिए। प्रभु इन्स्योरेन्सले बोनस र नगद लाभांशको वितरण नियामक निकायको स्वीकृतिपछि सेयरधनीलाई उपलब्ध गराउने छ।





