सरकार पुग्न नसकेको ठाउँमा पनि उज्यालो बोकेर सौर्य विद्युत उत्पादक संघ पुग्योः ऊर्जामन्त्री खड्का



काठमाडौं, साउन २० ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालको दुर्गम गाउँ–बस्तीमा अझै सरकार स्वयंले सेवा विस्तार गर्न नसकेको अवस्थामा सौर्य विद्युत उत्पादक संघले उज्यालो पुर्‍याएर महत्वपूर्ण योगदान गरेको बताएका छन्।

नेपाल सौर्य विद्युत उत्पादक संघ नेपालको रजत जयन्ती (२५औं वार्षिकोत्सव) कार्यक्रममा बोल्दै मन्त्री खड्काले भने, “जहाँ सरकार पुग्न सकेन, त्यहाँ सौर्य उज्यालो बोकेर संघ पुगेको छ।”

उनले हरेक नागरिकको घरसम्म र सिँचाइ गर्न नसकेको ठाउँमा समेत सौर्य प्रणालीमार्फत सहयोग पुर्‍याइएको उदाहरण प्रस्तुत गरे। मन्त्री खड्काले देशमा ऊर्जाको माग बढ्दो भए पनि आपूर्ति चुनौतीपूर्ण रहेको भन्दै अब तीव्र गतिमा काम गर्नुपर्ने बेला आएको बताए।

सरकारले लिएको १० वर्षे दीगो ऊर्जा लक्ष्य हासिल गर्न संघको निरन्तर सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै, खड्काले नीतिगत सहजीकरणको पहल भइरहेको जानकारी दिए।

उनले थपे, “हामी जलविद्युतमा जति अगाडि बढ्दैछौं, सौर्य ऊर्जा पनि त्यत्तिकै महत्वको विषय हो। जलवायु परिवर्तनको चुनौतीलाई मध्यनजर गर्दै अबको ऊर्जा योजना बहुआयामिक र नविकरणीय स्रोतमै केन्द्रित हुनुपर्ने आवश्यकता छ।”

कार्यक्रममा संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले संघले विगत २५ वर्षमा नीति संवाद, प्रविधि हस्तान्तरण र परियोजना विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको बताए।

कार्यक्रममा ऊर्जा क्षेत्रका विज्ञ, निजी क्षेत्रका प्रतिनिधि र सरकारी अधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। संघले आगामी दिनमा नवीकरणीय ऊर्जा क्षेत्रमा निजी क्षेत्रको भूमिका अझ सशक्त बनाउने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति : २०८२ साउन २१ गते मङ्गलवार