लो भोल्टेज ब्याट्रीसहित ‘बीवाईडी डल्फिन २०२५’ नेपालमा सार्वजनिक, मूल्य कति ?



काठमाडौं । नेपालमा बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले नेपालको इलेक्ट्रिक ह्याचब्याकको स्तरलाई नयाँ परिभाषा दिँदै बीवाईडी डल्फिनको बहुप्रतिक्षित २०२५ संस्करण सार्वजनिक गरेको छ।

अघिल्लो संस्करणको सफलतामा आधारित यस अपग्रेड गरिएको बीवाईडी डल्फिन २०२५ मा थुप्रै उन्नत विशेषताहरू समावेश गरिएको कम्पनीले जनाएको छ । सबैभन्दा प्रमुख यसमा ईभी उद्योगमै पहिलो पटक लिथियम आइरन फस्फेट (एलएफपी) लो भोल्टेज ब्याट्री (एलभीबी) प्रयोग गरिएको छ, जसले परम्परागत लिड–एसिड ब्याट्रीलाई विस्थापित गरेको छ ।

यो ब्याट्री पारम्परिक ब्याट्रीभन्दा ६ गुणा हलुका, ५ गुणा कम सेल्फ डिस्चार्ज हुने विशेषतायुक्त छ भने यसको आयु १५ वर्षसम्म हुन सक्ने कम्पनीले जनाएको छ । यसले लो–भोल्टेज इनर्जी स्टोरेज र विश्वसनीयतामा नयाँ विश्वस्तरीय मापदण्ड निर्धारण गरेको छ । एलएफपी लो भोल्टेज ब्याट्रीमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरको वारेन्टी उपलब्ध हुनेछ ।

बीवाईडी डल्फिन २०२५ ले अत्याधुनिक बीवाईडी ई–प्लेटफर्म ३.० र सुरक्षित ब्लेड ब्याट्री प्रविधिलाई निरन्तरता दिएको छ । जसले ३ सय ४० किलोमिटरको डब्लूएलटीपी रेन्ज प्रदान गर्छ । यसमा डीसी चार्जिङ क्षमता छ र ब्याट्रीलाई ३० मिनेटमै ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

२०२५ संस्करणमा थपिएका प्रमुख नयाँ विशेषता नेपालका विविध भूपरिस्थितिमा प्रदर्शन सुधार गर्न स्पोर्टी ह्यान्डलिङका लागि ट्युन गरिएको सस्पेन्सन, रातको समयमा अझ राम्रो दृश्यता दिने प्रभावशाली एलईडी हेडलाइट, उन्नत कुलिङ र हिटिङ कार्यक्षमता सहितको सुधारिएको एसी सिस्टम, मोबाइल फोन एनएफसी की, ब्लुटुथ की र प्यासेन्जर डोर स्विच लगायत हुन् ।

यी सम्पूर्ण प्रविधि र विशेषता थपिएसँगै बीवाईडी डल्फिन २०२५ को मूल्य प्रतिस्पर्धात्मक रूपमा ४१ लाख १५ हजार रुपैयाँ तोकिएको छ, जसमा ७ किलोवाटको होम चार्जर पनि समावेश गरिएको छ । साथै, कार्यक्रममा बीवाईडी डल्फिनको विश्वव्यापी रूपमा ८ लाख ३० हजार युनिट डेलिभरी पूरा भएको उपलब्धि पनि मनाइएको थियो ।

प्रकाशित मिति : २०८२ असार १० गते मङ्गलवार