साउनदेखि ईसीडी शिक्षक र विद्यालय कर्मचारीको तलब २४ हजार ३ सय



सामुदायिक विद्यालयका बाल विकास सहजकर्ता (ईसीडी शिक्षक) र विद्यालय कर्मचारी (लेखापाल, कार्यालय सहयोगी) को तलब २४ हजार ३ सय हुने भएको छ । संघीय सरकारबाट १७ हजार तीन सय रुपैयाँ र स्थानीय सरकारबाट ७ हजार रुपैयाँ गरेर जम्मा २४ हजार ३ सय हुने भएको हो ।

नेपाल शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले आर्थिक वर्ष २०८२/८३ को साउनदेखि सामुदायिक विद्यालयका बाल विकास सहजकर्ता (ईसीडी शिक्षक) र विद्यालय कर्मचारी (लेखापाल, कार्यालय सहयोगी)को तलब संघीय सरकारबाट १७ हजार तीन सय रुपैयाँ उपलब्ध गराउने सहमति भएको बताएकी छिन्।

२९ दिनसम्म जारी शिक्षक आन्दोलनपछि सरकार र महासंघबीच सो सहमति भएको उनले जानकारी दिइन्। सहअध्यक्ष पराजुलीले भनिन्, ‘आगामी साउनदेखि प्रारम्भिक बाल विकास सहजकर्ताले संघीय सरकारबाट १० हजार रुपैयाँ पाउनुहुन्छ। स्थानीय सरकारबाट ७ हजार रुपैयाँ पाउनुहुन्छ।’

उनले विद्यालय कर्मचारीले पनि सोही स्केलमा तलब पाउने बताइन्। उनले भनिन्, ‘विद्यालय कर्मचारीको हकमा पनि त्यही हो। अन्तर्राष्ट्रिय श्रम ऐन अनुसार १७ हजार तीन सय संघीय सरकारले उपलब्ध गराउनुपर्ने, पालिकाले अहिलेसम्म जति दिइरहेको छ त्यसलाई निरन्तरता दिने भन्ने हो।’

विद्यालय कर्मचारीलाई तोकिएको तलब दिन सबै पालिकालाई निर्देशन दिनुपर्‍यो भनेर शिक्षक महासंघले सरकारलाई भनेको नानुमायाले बताइन्। उनको भनाइमा सरकारसँग थप छलफल गरेर परिपत्र गर्न लगाउँछौं।

संघीय सरकारबाट हाल लेखापालले १३ हजार ५ सय र कार्यालय सहयोगीले ८ हजार रुपैयाँ पाउँछन्।

प्रकाशित मिति : २०८२ बैशाख २७ गते शनिवार