शिक्षा सचिवको निर्देशनमा कक्षा १२ को परीक्षामा निजामती कर्मचारी खटाउने निर्णय



काठमाडौँ । शिक्षक आन्दोलनका कारण कक्षा १२ को परीक्षा सार्ने प्रस्तावसहित मंगलबार बिहान राष्ट्रिय परीक्षा बोर्डको बैठक डाकियो । बोर्डका सदस्यहरूले बैठकमा जानुअघि ‘परीक्षा सार्ने विषयमा छलफल गर्न बैठक बोलाएको’ बताएका थिए ।

तर, बैठकमा शिक्षा सचिव दीपक काफ्लेले कर्मचारी परिचालन गरेर भए पनि चैत ११ देखि नै परीक्षा सञ्चालन गर्न निर्देशन दिए । त्यहीअनुसार निर्णय भएको बोर्ड स्रोतले जनाएको छ ।

अध्यक्ष महाश्रम शर्माले समेत कम्तीमा ७ दिन परीक्षा सार्न सकिने अनौपचारिक संवाद आफू निकटस्थसँग गर्दै आएका थिए । तर शिक्षामन्त्रीको राजीनामापछि बैठकमा सहभागी हुन पुगेका शिक्षा सचिव काफ्लेले परीक्षा गराउनुपर्ने अडान लिएको एक सदस्यले बताए । ‘माथि प्रधानमन्त्री, मुख्यसचिवको कुरा पनि परीक्षा गराउनुपर्छ भन्ने छ । शिक्षा सतिवले सीडीओमार्फत कर्मचारी खटाएर परीक्षा लिन सकिन्छ भन्नुभयो,’ उनले भने, ‘त्यसपछि बैठकमा सबैले हुन्छ, हुन्छ भन्नुभयो ।’

प्रकाशित मिति : २०८२ बैशाख ९ गते मङ्गलवार