नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकर भट्टले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनलाई नयाँ गभर्नर बनाउने सहमति सत्तारूढ दलहरूबीच भएसँगै भट्टले राजीनामा दिएको स्रोतले जनाएको छ।
लामो समयको रस्साकस्सीपछि सत्तारूढ दलहरू नेपाली काँग्रेस र नेकपा (एमाले) ले बुधवार गभर्नरको नाममा सहमति जुटाएका थिए। काँग्रेस सभापति शेरबहादुर देउवाले डा. भट्टको नाम प्रस्ताव गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले समर्थन जनाएका थिए।
शुक्रवार अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको छनोट समितिले भट्टसहित तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्ने सम्भावना छ। त्यसपछि बस्ने मन्त्रिपरिषद् बैठकले नयाँ गभर्नरको नियुक्ति गर्ने अपेक्षा गरिएको छ।
डा. भट्टले राष्ट्र बैंकमा लामो समयदेखि विभिन्न महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका छन् ।
प्रकाशित मिति : २०८२ बैशाख ५ गते शुक्रवार





