काठमाडौं । मुलुकको सार्वजनिक ऋण बढेर २७ खर्ब रुपैयाँ नजिक पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिना (साउन–फागुन) मा सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब ३ करोड पुगेको छ ।
यसलाई नेपालको पछिल्लो जनगणना अनुसार २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ ले भाग लगाउँदा हरेक नेपालीको टाउकोमा ९१ हजार ७ सय ५६ रुपैयाँ बराबर सार्वजनिक ऋण पुगेको छ । त्यसो त यस्तो ऋण व्यक्तिले चुक्ता गर्नु पर्दैन । तर, हरेक नेपालीले तिर्ने करबाटै राज्यले सार्वजनिक ऋण चुक्ता गर्ने गर्छ ।
कार्यालयका अनुसार फागुनमा मात्र सार्वजनिक ऋण ६४ अर्ब ९७ करोड रुपैयाँले बढेको छ । माघ मसान्तसम्म सार्वजनिक ऋण २६ खर्ब ११ अर्ब थियो । फागुन मसान्तसम्म आन्तरिक ऋण १३ खर्ब १५ अर्ब ५७ करोड र वाह्य ऋण १३ खर्ब ६० अर्ब ४६ करोड पुगेको छ ।
सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादन (जीडीपी) का आधारमा ४६.९१ प्रतिशत नाघेको छ । जीडीपीका आधारमा आन्तरिक ऋण २३.०६ र वाह्य ऋण २३.८५ प्रतिशत पुगेको कार्यालयको तथ्यांक छ ।





