काठमाडौं । पेन्सन बन्चित शिक्षक समूह केन्द्रीय सङ्घर्ष समितिले आन्दोलनको तयारीमा रहन सबै पालिका, जिल्ला र प्रदेश कमिटीका शिक्षकहरूलाई सर्कुलर गरेको छ । नेपाल सरकारको सिफारिसमा २०८१ पौष २९ गते जारी भएको निवृत्तिभरण ऐन सम्बन्धी अध्यादेश शिक्षकको भावना र आन्दोलनको मर्म विपरीत रहेको भन्दै तयारी रहन सर्कुलर गरेको हो ।

विद्यालय शिक्षा विधेयक संसदीय प्रक्रिया मार्फत अविलम्ब जारी हुनुपर्ने अवस्थामा रहेका बखत उक्त ऐनबाट सम्बोधन हुनुपर्ने शिक्षकको निवृत्तिभरण सम्बन्धी विषयमा आम पेन्सन बन्चित शिक्षकको भावना र आन्दोलनको मर्म विपरीत अध्यादेशबाट संशोधन आएको हुँदा यो अध्यादेशलाई हामी अस्वीकार गरेको समेत समितिले जनाएको छ ।
साथै राज्यबाट शिक्षा ऐन २०२८. नियमावली २०५९ अनुसार नियुक्त कुनै पनि शिक्षकले निरन्तर पाइ आएको सुविधामा नकारात्मक असर पर्ने गरी भुतप्रवाही कानुन बनाउनु वा संशोधन गर्नु कानुनी दृष्टिबाट समेत त्रुटिपूर्ण हुने भएकोले अध्यादेश तुरुन्त फिर्ता गर्न नेपाल सरकारसँग माग गरेको छ ।
“यसै सन्दर्भमा हाम्रो मागलाई सार्थक तुल्याउन हामीले गर्ने सङ्घर्षका कार्यक्रमहरू तय गर्नु पूर्व हामीले विभिन्न संघ संगठनहरू तथा अन्य सरोकारवाला निकायहरूसँग विचार विमर्श, बहस तथा पैरवीका कार्यक्रमहरूलाई घनीभूत तवरमा अगाडी बढाई पेन्सन वन्चित शिक्षक समूह, केन्द्रीय सङ्घर्ष समिति एउटा निचोडमा पुग्ने अवस्थामा रहेको छ । हाम्रो मागको अवमूल्यन गरि सरकार अगाडी बढेमा सम्पूर्ण पेन्सन बन्चित शिक्षकहरूलाई पेन्सन वन्चित शिक्षक समूह, केन्द्रीय सङ्घर्ष समितिले आह्वान गर्ने जुनसुकै प्रकारको आन्दोलन या सत्याग्रहका कार्यक्रमहरूको लागि आ– –आफ्नो पालिका, जिल्ला र प्रदेश कमिटीका आफ्ना मातहतका शिक्षक साथीहरूलाई संगठित गरि तयारी अवस्थामा रहनुहुन हार्दिक अपिल गर्दछौँ ” सर्कुलर गरेको पत्रमा भनिएको छ ।





