जागिर छाड्ने शिक्षक बढे, यस्तो छ कारण



काठमाडौं । प्राविधिक धार तर्फका विषयहरूमा शिक्षक धेरै खाली हुने भएकोले निकै समस्या हुने गरेको विश्व निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कडेलले बताएका छन् । शिक्षकहरूले कही अवसर नपाउन्जेल पढाउने तर अन्त अवसर पाएपछि दुई तीन महिनामै छाडेर भाग्ने गरेको बताउँदै पठनपाठनमा निकै समस्या र कठिन हुने गरेको बताएका हुन् ।

केही दिन अगाडी पाठ्यक्रम परिमार्जन सम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले सातौँ तहको वरिष्ठ शिक्षकले पनि अन्य तिर तल्लो तहमा नाम निकालेपछि छोड्ने गरेको उल्लेख गर्दै यसले नेपालको शिक्षालाई गिज्याएको तर्क गरे । यसो हुनुमा जागिरको सुरक्षा नहुनु उनको भनाई छ ।

‘हाम्रोमा सातौँ तहको वरिष्ठ प्रशिक्षकले चार तहको विद्युत् प्राधिकरणमा नाम निकालेर जानु भयो । कतिसम्म गिज्याएको छ नेपालको शिक्षालाई । यसो हुनु भनेको जागिरको सुरक्षा छैन । र ती शिक्षकले छोडिसकेपछि पदपूर्ति गर्न भिर मौरीको मह काड्नु जस्तो यती कठिन र झन्झटिलो छ । १५ दिनको म्याद राखेर सूचना जारी गर्नुपर्ने, परीक्षा लिनु पर्ने अन्तर्वार्ता लिनु पर्ने यो सबै गर्दा दुई महिना लाग्छ । यसका लागि प्राविधिक शिक्षकहरूको बैंक बनाइदिने र खालि भयो भन्ने बित्तकै पठाई दिने व्यवस्था गर्नुपर्छ’ उनले भने ।

यसैगरी प्राविधिक धार अन्तर्गत कक्षा ११ र १२ मा विद्यार्थीहरू एकदमै न्यून भएको र केही विद्यालयमा ३ जना ५ जना रहनुका साथै कुनै कुनैमा शून्य भएको अवस्था औँल्याए । यसको कारण अलि जान्ने विद्यार्थी विज्ञान पढ्ने त्यसपछि व्यवस्थापन र शिक्षा पढ्ने भएको बताए ।

कक्षा ११ र १२ को प्राविधिक विज्ञानका विषयहरू पूर्णरूपमा विज्ञान जस्तै भएकोले यसले विद्यार्थीहरूमा डर सिर्जना गरेकोले यसलाई परिवर्तन गरेर अलि सहज बनाउन आवश्यक रहेको उनको तर्क छ । त्यसैगरी कक्षा १२ पछि १ वर्षको ओजेटी भएको र सामान्य धार पढेका विद्यार्थीहरू स्नातक पढ्न जाँदा पनि प्राविधिक धारका विद्यार्थीले एक वर्ष कुर्नुपर्ने कारणले विद्यार्थीले नपढ्ने गरेको बताए । यसका लागि कक्षा ९ देखिनै तीन तीन महिनाको ओजेटी राखेर कक्षा १२ को नतिजा आउँदा सँगै सकिने व्यवस्था गर्न पाठ्यक्रम विकास केन्द्रलाई सुझाब दिए ।

उनले पाठ्यक्रम पनि राम्रो बनाउनु पर्ने बताउँदै प्राविधिक धार तर्फको शिक्षामा सैद्धान्तिक र प्रयोगात्मकलाई मिलाउन आवश्यक रहेको बताए ।

प्रकाशित मिति : २०८१ पुष १८ गते बिहिवार