काठमाडौं । वि.सं. २०५४ सालमा स्थापना भएको नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २७औं बार्षिक साधारण सभाको दुबै एकाई बैठकहरु संस्थाका अध्यक्ष शिव प्रसाद सिटौलाको अध्यक्षतामा सम्पन्न भएको छ ।
बैठकहरुमा संस्थाका सञ्चालक समितिको तर्फबाट संस्थाका अध्यक्ष सिटौलाले संस्थाको आ.ब. २०८०/८१ को बार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्दै आ.ब. २०८०/८१ को असार मसान्त सम्ममा संस्थाको कुल बचत २ अर्ब २४ करोड ६६ लाख ४२ हजार ६० कायम भएको र कर्जा लगानी १ अर्ब ३२ करोड ४१ लाख १६ हजार ७४५ कायम रहेको जानकारी गराए ।

संस्थाको चुक्ता पुँजी ९ करोड ३४ लाख ३ हजार ५ सय, जगेडा तथा अन्य कोषहरु २४ करोड ६३ लाख ८ हजार ५२१ रहेको छ । संस्थाको सञ्चालन बचत (मुनाफा) २ करोड १९ लाख ६९ हजार ५२४ कायम भएको जानकारी दिए ।

प्रथम एकाई बैठक अर्थविद् डा.चन्द्रमणी अधिकारी र दोस्रो एकाई बैठक नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेडका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । प्रथम एकाई बैठकका प्रमुख अतिथी अधिकारीले संस्थाले आ.ब. २०८०/८१ हासिल गरेका उपलब्धिहरुको प्रशंसा गर्दै थप प्रगतिको शुभकामना समेत व्यक्त गरे ।
सहकारी संस्थामा सदस्यनै मालिक भएकोले संस्थामा आवश्यक मलजल गर्ने जिम्मेवारी पनि सदस्यको नै भएको उल्लेख गरे । साथै सहकारी संस्थाहरु सदस्यहरुको हितको निमित्त काम गर्ने सामाजिक संस्था समेत भएकोले यसका कार्यक्रमहरु सदस्यमुखी हुनुपर्ने कुरामा जोड दिए ।

साथै दोस्रो एकाई बैठकका प्रमुख अतिथी अधिकारीले आम सदस्यहरुमा सहकारी सम्बन्धि जनचेतना अभियान सञ्चालन गरि प्रत्येक सदस्यले अर्को एक सदस्यलाई सहकारी शिक्षा प्रदान गर्ने अभियान सञ्चालन गरि सकारात्मक भाव पैदा गर्न, सदस्यहरुको सोचमा परिवर्तन ल्याई उत्पादनशील र उद्यमशील क्षेत्रमा संस्थाको वित्तीय श्रोतलाई परिचालन गर्न नवकान्तिपुरले अग्रसरता लिनुपर्ने र सदस्यहरुलाई नियमित बचतमा आबद्ध गराई संस्थामा कुल बचतको ६० प्रतिशत नियमित बचत रहनेगरि बचत संरचना बनाउँन सके तरलता सम्बन्धि जोखिम नहुने समेत उल्लेख गरे ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष सविना ढकालले स्वागत मन्तब्य व्यक्त गर्दै लक्षित क्षेत्रमा छरिएर रहेको अनियन्त्रित पुँनीलाई एकत्रित गर्दै उत्पादनशील क्षेत्रमा पारदर्शी तवरबाट लगानी गरि संस्थाले सदस्यहरुको अधिकतम् हितमा काम गरेको चर्चा गरेकी थिईन ।
साधारण सभामा संस्थाका सदस्यहरुले संस्थाले सदस्यहरुको हितमा गर्नुपर्ने कार्यहरुको सम्बन्धमा आ-आफ्नो राय सुझाव प्रस्तुत गरेका थिए ।
कार्यक्रममा संस्थाले प्रत्येक एकाईबाट एक जना महिला तथा एक जना पुरुष गरि ४ जना जेष्ठ सदस्यहरुलाई १० हजार १ रुपैयाँ नगदसहित सम्मान गरेको छ । संस्थाले २०८० सालको एसईई परिक्षामा आफ्ना सदस्यका छोराछोरी मध्येबाट उत्कृष्ठ अंक हासील गर्ने छात्रतर्फ ६ जना तथा छात्रातर्फ ५ जना विद्यार्थीहरु लाई जनही १० हजार १ रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरेको छ । साथै संस्थामा विगत १५ बर्षदेखि अनवरत रुपमा कार्य गरिरहेका ३ जना कर्मचारीहरुलाई जनहि ७५ हजार १ रुपैयाँ रकमसहित नवकान्तिपुर दीर्घ सेवा पदक २०८१ द्वारा सम्मान गरेको छ ।
साधारणसभाको एकाई बैठक हरुमा संस्थाले राष्ट्रिय मिर्गौला उपचार केन्द्र, मिर्गौला बचाऔं अभियान बनस्थलीको सहकार्यमा निःशुल्क मिर्गौला परिक्षण शिविर सञ्चालन गरेको थियो । साथै हिमाल हस्पिटल प्रा.लि. सँगको सहकार्यमा बृहत् रक्तदान कार्यक्रमको समेत आयोजना गरेको थियो ।
साधारण सभाले आ.ब. २०८०/८१ को मुनाफाबाट सदस्यहरुलाई ६ प्रतिशतको दरले लाभांश वितरण गर्ने निर्णय गर्नुका साथै संरक्षित पुँजी फिर्ता कोषमा छुट्याएको २५ लाख ८३ हजार रकम उक्त आर्थिक वर्षमा सदस्यहरुले संस्थासँग गरेको बचत तथा ऋण कारोबारको आधारमा चालु आ.व. मा वितरण गर्ने निर्णय समेत गरेको छ ।





