नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल पुग्न कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ११९ रनको सामान्य लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार दोस्रो क्वालिफायरमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको कर्णालीले ९ विकेटको क्षतिमा ११८ रन जोड्यो।
महत्वपूर्ण खेलमा कर्णालीको ओपनिङ चल्न सकेन। चितवनविरूद्धको एलिमिनेटरको खेलमा अर्धशतक प्रहार गरेका जयकिशन कोल्सावाला १ रनमै आउट भए। उनी दोस्रो ओभरमा जनकपुरका ललितनारायण राजवंशीको बलमा हर्ष थाकरबाट क्याच भए।
खेलको विजेता फाइनलमा पुग्नेछ। फाइनल पुग्ने टोलीले शनिबार सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ।
जनकपुरले पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएपछि दोस्रो क्वालिफायरको अवसर पाएको हो। कर्णालीले इलिमिनेटरको खेलमा चितवन राइनोजलाई हराएर दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो।
प्रकाशित मिति : २०८१ पुष ४ गते बिहिवार





