विराटनगर किंग्सले चितवन राइनोजलाई ५१ रनले हरायो



नेपाल प्रिमियर लिग (एनपिएल)मा विराटनगर किंग्सले चितवन राइनोजलाई ५१ रनले पराजित गरेको छ। त्रिवि मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा टस जितेर ब्याटिङ गरेको विराटनगरले ५ विकेट गुमाएर १८१ रनको योगफल तयार पारेको थियो। उक्‍त लक्ष्य पछ्याउने क्रममा चितवनले ६ विकेट गुमाएर १३० रन मात्रै बनाएको हो।

विराटनगरका लागि बसिर अहमदले विस्फोटक ब्याटिङ गरे। उनले ४४ बलमा ४ चौका र ४ छक्का प्रहार गरी ६८ रन बनाएर नट आउट रहे। जवाफी ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर जम्मा १३० रन मात्रै बनायो।

चितवनका लागि अमर रौतेलाले ४२ रन, सन्तोष कार्कीले २८, कप्तान कुशल मल्लले २५ र रवि बोपाराले २० रन जोडे। यता विराटनगरका लागि कप्तान सन्दिप लामिछानेले दुई विकेट लिँदा, बसिर अहमद, सुवास भण्डारी, क्रिस सोल र लोकेश बमले समान एक-एक विकेट हात पारे।

प्रकाशित मिति : २०८१ मङ्सिर २८ गते शुक्रवार