तनहुँको भानु नगरपालिका–११ मानेचौकामा रहेको त्रिभुवन माध्यमिक विद्यालयमा बालमैत्री कक्षाकोठा सञ्चालनमा आएको छ। भानु नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले त्रिभुवन माविको बालमैत्री कक्षाकोठाबाट सबैले सिक्नुपर्ने जनाएको छ।
नगरपालिकाको भनाइमा बालबालिका हाम्रा भविष्य हुन्। बालमैत्री व्यवहार र सिकाइयोग्य वातावरण निर्माण हाम्रो दायित्व हो। यस सन्दर्भमा बालबालिकाको बसाइ व्यवस्थापन र सूचना प्रविधिको प्रयोगमा त्रिभुवन मावि भानु ११ मानेचौकाको प्रयास सराहनीय छ।
कक्षाकोठा फराकिलो र सबै बालबालिकाको सहज पहुँचमा छ। उज्यालो र हावा छिर्ने खालको छ, भुँइमा फम राखी त्यसमाथि कार्पेट विछ्याइएको ओभानो छ। भित्तमा स्मार्ट टिभि जडान गरिएको छ। इन्टरनेटको माध्यमबाट विभिन्न बालमैत्री, सन्देशमूलक र मनोरञ्जनात्मक सामग्री डिस्प्ले गरिएको छ।
शिक्षकको व्यवहार मायालु र मानवोचित छ र बाल खेल सामग्री उपलब्ध रहेको बताउँदै नगरपालिकाले बालविकास केन्द्रलाई तीनवटा कक्षामा सञ्चालन गरिएको जनाएको छ। कक्षामा ४० भन्दा बढी बालबालिका अध्ययनरत छन्। यसबाट धेरै विद्यालयले सिक्नु जरुरी रहेको पालिकाको भनाइ छ।





