
मकवानपुर । सरकार गठन भएको बितिसक्दा समेत बागमती प्रदेशका मन्त्रीहरूको सम्पत्ति विवरण अझै सार्वजनिक भएको छैन । सुशासन र पारदर्शिताको पालना प्रदेशका मन्त्रीदेखि सांसद र कर्मचारीहरूले गरेको देखिँदैन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रीहरूको सम्पत्ति विवरण गोप्य राख्ने गरेको छ ।
गत साउन ९ मा मुख्यमन्त्री नियुक्त भएका बहादुर सिंह लामासहित कांग्रेसका ७ र एमालेका ६ मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरिएको छैन । प्रदेश सरकारसँग जोडिएका विषयहरू अध्यावधिक गरे तथ्याङ्क तयार गर्ने र सोही अनुसार सुशासन तथा पारदर्शितासहित कार्ययोजना बनाउने मुख्यमन्त्री लामाको भनाइ रहँदै आएको छ । तर विडम्बना, भाषण अनुसारको काम उनी आफैँ गरिरहेका छैनन् । उनी मुख्यमन्त्री बनेको ९० दिन बित्दासमेत प्रदेश सरकारका अन्य १३ मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक हुन सकेको छैन ।
प्रदेश संरचना स्थापनादेखि हालसम्म ४ मुख्यमन्त्रीको नेतृत्वमा ८५ जना मन्त्री भइसकेका छन् । केही त दुई–तीन पटक मन्त्री बनिसकेका छन् भने केही पहिलो पटक मन्त्री बनेका छन् ।तर, प्रदेश संरचना स्थापनाकालदेखि नै बागमतीका मन्त्रीहरूको सम्पत्ति विवरण गोप्य राखिँदै आएको छ । प्रदेश सरकारको नेतृत्व मुख्य तीन दलका नेताहरूले पालैपालो लिइसकेका छन् । मुख्यमन्त्री बन्ने सबैको प्रमुख प्राथमिकता सुशासन र पारदर्शीता नै रहने गरेको छ । सरकारको नेतृत्व लिएदेखि कार्यकालभरि उनीहरू भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता र पारदर्शिताको भाषण गर्ने गर्छन् । तर, आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नेतर्फ न सरकारको नेतृत्वकर्ताको ध्यान गएको छ, न मन्त्रीहरूले नै यसमा चासो देखाउने गरेका छन् ।