बढ्यो पेट्रोल र डिजेलको भाउ



सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ। नेपाल आयल निगमले आइतबार एक विज्ञप्ति जारी गर्दै सोमबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोलको भाउ लिटरमा दुई रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा पाँच रूपैयाँ बढाएको जानकारी दिएको छ।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो। निगमका अनुसार आइओसीले पेट्रोलको भाउ लिटरमा दुई रूपैयाँ ४१ पैसा र डिजेलको चार रूपैयाँ ९१ पैसा बढाएर नयाँ मूल्य पठाएको छ।

निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ १६७ रूपैयाँ प्रतिलिटर पर्नेछ। डिजेल र मट्टीतेल लिटरको १५७ रूपैयाँ पर्नेछ।

प्रकाशित मिति : २०८१ असार १८ गते सोमवार