ललितपुरका व्यवसायीहरुका लागि निर्माण व्यवसाय व्यवस्थापन सम्बन्धी दुई दिवसीय तालिम



ललितपुर । नेपाल निर्माण व्यवसायी महासंघकाे आयाेजनामा ललितपुरका व्यवसायीहरुका लागि निर्माण व्यवसाय व्यवस्थापन सम्बन्धी दुई दिवसीय तालिम आजबाट सुरु भएको छ । निर्माण व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउने उद्देश्यका साथ स्टाफ कलेज जावलाखेलमा सुरु भएकाे तालिममा ललितपुर निर्माण व्यवसायी संघमा आवद्ध ९० जना व्यवसायीहरु सहभागी रहनुभएकाे संघका बरिष्ठ उपाध्यक्ष भगिरथ तिमल्सिनाले जानकारी गराउनुभयाे ।

तालिमकाे उद्घाटन समारोहमा मन्तव्य राख्नुहुँदै नेपाल निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (एडी)ले आवश्यकता अनुसार बजेटकाे सुनिश्चितता बिना नेताहरुकाे निर्वाचन क्षेत्रमा टेण्डर निकाल्ने कारणले गर्दा समस्या सृजना हुँदै गएकाे बताउनुभयाे । “अहिले नेताहरूकाे निर्वाचन क्षेत्र बिना बजेट टेण्डर निकाल्ने प्रचलन बढेको छ, अनि व्यवसायीहरु प्रतिस्पर्धामा उत्रेर ५०-५५ प्रतिशत कम मुल्यांकनमा टेण्डर लिन लाग्छन, यसाे हुँदा गुणस्तरीय काम पनि हुन सक्दैन, भुक्तानी पनि सहज पाउन सकिंदैन।आवश्यक बजेटकाे व्यवस्थापन नगरी टेण्डरमा जाने प्रवृत्तिले गर्दा नेपाल सरकारसंग भुक्तानी गर्ने क्षमतामा असर पर्छ, काम सम्पन्न भएपनि विभिन्न बाहाना बनाएर त्यसकाे भुक्तानी नहुँदा निर्माण व्यवसायीहरु ऋणमा डुब्नुपर्ने अवस्था आएकाे छ।” उहाँले भन्नुभयो ।

निर्माण व्यवसायलाई मर्यादित र व्यस्थित बनाउन, निर्माण व्यवसायीहरुकाे ज्ञान, सीप र क्षमता अभिबृद्धि गर्न सरकारले यस क्षेत्रमा लगानी गर्नुपर्छ भनेर महासंघले आवाज उठाउँदै आएकाे छ भन्नुहुँदै उहाँले सरकारले निर्माण व्यवसायमा लागेकाहरुकाे क्षमता अभिबृद्धिका लागि वेलावेलामा तालिम सञ्चालन गरेर दक्ष बनाउनुपर्छ भन्ने धारणा राख्नुभयाे ।

“लाेभलालचमा टेण्डर पार्ने दाउमा परिस्थिति र बजारकाे अवस्थालाई ध्यान नदिई टेण्डर बिड गर्नु हुँदैन,टेण्डर गर्दा र सम्झौता गर्दा सर्तहरु एउटै छ कि छैन भनेर हेर्नुपर्छ, याे पेशा नराम्रो हैन, राम्राे हाे यसलाई व्यवस्थित गर्नुपर्छ, याे हाम्रो आवश्यकता हाे।” उहाँले भन्नुभयो ।

ललितपुर निर्माण व्यवसायी संघका अध्यक्ष पञ्चराम महर्जनले दुई दिवसीय तालिमले निर्माण क्षेत्रमा हुने नयाँ परिवर्तन र प्रविधिहरूसँग अद्यावधिक रहन मद्दत गर्ने बताउनुभयो। निर्माण व्यवसायको स्तरवृद्धि र गुणस्तरीय निर्माण कार्यहरू सम्पन्न गर्न यस प्रकारका तालिमहरू अपरिहार्य भन्नेमा उहाँले जाेड दिनुभयाे ।

तालिममा निर्माण क्षेत्रको आधुनिक प्रविधि, व्यवस्थापन प्रणाली, कार्यक्षेत्रमा सुरक्षाका उपायहरू, वातावरणमैत्री निर्माण प्रविधिहरू, सार्वजनिक खरिद ऐन र यसका समस्याहरु, गुणस्तरीय निर्माण सामग्रीको चयन र प्रयोग तथा परियोजना व्यवस्थापनको महत्वपूर्ण पक्षहरूमा प्रशिक्षण दिइने संघका बरिष्ठ उपाध्यक्ष भगीरथ तिमल्सिनाले जानकारी गराउनुभयाे । “यस प्रकारकाे तालिमले व्यवसायी सदस्यहरुलाई नवीनतम प्रविधि र व्यवस्थापन विधिहरूसँग परिचित गराएर उनीहरुको दक्षता वृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने छ। व्यवसाय अलपत्र परेर व्यवसायीहरु कालाेसूचीमा पर्ने अवस्था आउने समस्यामा कमी आउने विश्वास छ।” उहाँले भन्नुभयो ।

तालिममा इन्जिनियर केशवराज आचार्य र महासंघका बरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (एडी)ले सहभागीहरुलाई प्रशिक्षण गर्नुहुने संघका बरिष्ठ उपाध्यक्ष तिमल्सिनाले जानकारी गराउनुभयाे ।

प्रकाशित मिति : २०८१ असार १६ गते शनिवार