बैतडीको सिंगास गाउँपालिका–५, खैरकोटस्थित भुवनेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत एक छात्रामाथि निर्घात कुटपिट भएको छ । प्रधानाध्यापक वीरेन्द्रसिंह धामीले छात्रा संगीता धामीलाई मरणासन्न हुनेगरी पिटेका हुन् । गाउँपालिका अध्यक्ष हरिसिंह धामीका भाइ उनले आफूमाथि लागेको आरोप नकारेका छन् । अन्धाधुन्द विद्यार्थी कुटेका उनले छात्रामा ‘बैना’ (डाँडाको भूत) चढेको दाबी गरे ।
विद्यालयको ‘लेटरप्याड’ मा उनीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘निज छात्रा काम्दै विद्यालयको डिलतिर हामफालेको र आफैं लछारपछार गर्दा यस विद्यालयका सम्पूर्ण शिक्षक र कक्षा १० का सम्पूर्ण विद्यार्थी मिलेर निजलाई कठिन परिश्रम गरी समातेर कोठाभित्र राखेको ठीक साँचो हो । हामफाल्ने र जमिनमा आफ्ना हातखुट्टा आदि अंग बजार्दै गर्दा निजको शरीरको केही भागमा सामान्य राता डाम देखिएको छ ।’
विद्यार्थीमा भूत चढेको सत्य सावित गर्न धामीले भिडियोसमेत बनाउन लगाएको बताइन्छ । हाल सो भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । छात्राहरू विद्यालयको चौरमा घिस्रिरहेको भिडियोमा देखिन्छ । पीडित परिवार भने विज्ञप्तिमा उल्लिखित दाबी मान्न तयार छैनन् । उनले खानेपानीको पाइपले पिटेको पीडित परिवारको आरोप छ ।
घटना जेठ ३० गतेको हो । कक्षा ९ मा अध्ययनरत संगीता शिक्षक नआएपछि साथीसँग शौचालय गइन् । फर्केर आउँदा प्रधानाध्यापक धामी कक्षामा थिए । उनले बाहिर गएको भन्दै खानेपानीको पाइपले मर्नेगरी पिटे र संगीतालाई कक्षाकोठा बाहिर निकाले । कुटाइ सहन नसकेर भुइँमा ढलेकी उनको पेटमा चोट लागेको छ । शरीरभरि निलडाम छ ।
हाल धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको पीडितका नातेदार जगदीश धामीले जानकारी दिए । उनका अनुसार पीडितलाई होश आए पनि बोल्न सकेकी छैनन् । घटनापछि जिल्ला प्रहरी कार्यालय बैतडी र जिल्ला प्रशासन कार्यालयलाई मौखिक जानकारी गराइएको उनले बताए । ‘प्रधानाध्यापकले संगीतालाई खानेपानीको पाइपले हिर्काउनुभएछ, त्यसपछि उनी कक्षाकोठाबाट बाहिर आएर ढलिछन्, अहिले होश त आयो तर बोल्न सकेकी छैनन्,’ उनले भने ।
यता, जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामी विद्यालयमा पहिलोपटक ‘बैना’ देखिएको बताउँछन् । अचानक ‘बैना’ देखिएको भन्दा आफू पनि आश्चर्यमा परेको उनको भनाइ छ । भन्छन्, ‘म अहिले काठमाडौंमा छु, कुटपिट भएकोसम्म जानकारी पाएँ, आजसम्म सो विद्यालयमा बैना देखिएको थाहा छैन । शारदा माविमा चाहिँ कहिलेकाहीँ देखिन्छ ।’ यस विषयमा बुझ्न पटक–पटक प्रधानाध्यापक धामीलाई फोन गर्दा पनि सफल हुन सकेन । स्थानीयका अनुसार धामीलाई उनकै दाजुले प्रधानाध्यापक नियुक्त गरेका हुन् । स्थायी शिक्षक हुँदाहुँदै राहत दरबन्दीमा कार्यरत उनलाई प्रधानाध्यापक बनाइएपछि चर्को विरोध भएको थियो ।
पीडित छात्राका आमाबुवा दुवै जना भारतको बैंग्लोरमा मजदुरी गर्छन् । छोरीलाई प्रधानाध्यापकले मरणासन्न हुनेगरी कुटपिट गरेको सुनेर उनीहरू स्तब्ध बनेका छन् । जिल्ला प्रहरी कार्यालय, बैतडीले भने आधिकारिक जाहेरी आएमा मात्र कारबाही प्रक्रिया अगाडि बढाइने जनाएको छ ।





