डाक्टरमाथि कुटपिट भएकाे विराेधमा पाटन अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द



ललितपुर । ललितपुरमा रहेको पाटन अस्पतालका चिकित्सकहरूमाथि कुटपिट भएकोमा नेपाल चिकित्सक सङ्घले विरोध जनाएको छ ।

गएको शनिवार ज्येष्ठ नागरिक वार्डमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि बिरामीका आफन्तले कुटपिट गरेको भन्दै सङ्घले विरोध गरेको हो ।

पाटन अस्पतालमा उपचार गराइरहेका मकवानपुरका ६७ वर्षका कृष्ण नगरकोटी र ओखलढुङ्गाकी ९६ वर्षकी जनमाया राईको ज्यान गएको थियो । दुवै बिरामीलाई सुईमार्फत औषधि दिएको केही समयभित्रै ज्यान गएको भन्दै बिरामीका आफन्त आक्रोशित भएका थिए ।

पाटन अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीहरुले आजदेखि आकस्मिकबाहेकका सेवामा उपस्थित नहुने घोषणा गरेका छन् । चिकित्सिकहरुले विज्ञप्ति निकालेर कुटपिटको विरोधमा आजदेखि सेवा बन्द गर्ने जानकारी गराएका हुन् । दोषीलाई प्रचलित ऐन अनुसार कारबाही नहुँदासम्म सेवा बन्द गर्ने चिकित्सक, स्वास्थ्यकर्मीले बताएका छन् ।

प्रकाशित मिति : २०८० कार्तिक २१ गते मङ्गलवार